| बिहिबार, अशोज २, २०७६

छेकम्पारमा कादुरीको जलविद्युत आयोजना निर्माण

चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा छेकम्पार लघुजलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । कादुरीको आर्थिक सहयोग तथा स्थानीय बासिन्दाको जनश्रमदानमा डेढबर्षको अबधिमा १०० किलोवाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको हो । स्यारखोलाको पानी करीब पाँचसय मिटरको कुलो मार्फत ङाक्यूलेरु भन्दा तल रहेको पावर हाउसमा संकलन गरेर बिजुली निकालेको वडा अध्यक्ष लामा पासाङले बताए । आयोजनाको एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरिएको छ । एक सय १९ किलोवाट क्षमताको आयोजनाबाट छेकम्पारका करीब एक सय घरधुरीमा विजुली बलेको वडा अध्यक्ष पासाङले जानकारी दिए ।
छेकम, ङाक्यू, लेरु, जोङ, लामागाउँ, राजेन गुम्बा सहित अन्य गुम्बामा पनि लघु जलविद्युतको बिजुली विस्तार गरिएको उनको भनाई छ । उज्यालोका लागि सोलारको भर पर्दै आएका स्थानीयले अब लघुजलविद्युतको बिजुली बाल्न पाएका वडा कार्यालयका ङवाङ लामाले बताए । ‘चाइना सरकारले हरेक घरमा दिएको तीनसय वाटको सोलारको उज्यालोमा बस्थ्यौं’, उनले भने, ‘अब गाउँमै लघुजलविद्युत बनेपनि घरमा बिद्युतीय उपकरण पनि प्रयोग गर्न पाईने भएको छ ।’ पर्याप्त मात्रामा बिजुली आएपछि स्थानीयले खाना पकाउने राइसकुकर, विद्युतीय चुल्हो, पानी तताउने जग लगायतका उपकरणको प्रयोग गर्न थालेका उनको भनाई छ ।
गाउँलेले पेटूोलमार्फत चल्ने कुटानी पिसानी मिल विस्थापन गरेर बिजुलीबाट चल्ने मिल लगायतका घरेलु उद्योग सञ्चालनको तयारी पनी गरेका उनले जानकारी दिए । गुम्बामा माटोको पालामा बत्ति बाल्दा दुर्घटनाको जोखिम हुने भएकाले स्थानीयले बिजुलीको पाला बाल्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्