| शुक्रबार, अशोज ३, २०७६

हराएका मोबाइल खोज्न प्रहरीमा छुट्टै इकाई स्थापना

जिल्ला प्रहरी कार्यालय गोरखाले हराएका सामग्री खोजी गर्न छुट्टै इकाई स्थापना गरेको छ ।
मोबाइल लगायत हराएका सामग्री खोजी गरिदिनका लागि उजूरी आउने क्रम बढेपछि छुट्टै शाखा मार्फत त्यसको ब्यवस्थापन गर्न लागिएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
सोही शाखाको सक्रियतामा एक साताको प्रयासमा हराइरहेका चार थान मोबाइल र एक थान मोटरसाइकल फेला पारिएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरि ति सामग्री सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै एसपी अधिकारीले हराएका सामग्री खोजिदिन भन्दै प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको बताए ।
‘२÷३ वर्ष पहिलेदेखिका निवेदनको सुनुवाई हुन नसकेपछि छुट्टै शाखा मार्फत खोजतलासलाई तिब्रता दिएका छौं ’ उनले भने ‘ मोवाइलको आइएमइआई नं नोट गरेर राख्नुहोस्, यदि मोवाइल हराएमा त्यो नं सहित प्रहरीमा निवेदन दिनुहोस फेला पर्ने सम्भावना धेरै रहन्छ ।’कार्यक्रममा एसपि अधिकारीले गएको साउन १६ गते काठमाण्डौंबाट हराएको मोटरसाइकल सवारीधनी बसन्त घतानेलाई प्रदान गरे । प्रहरीले खोजतलास गर्दा गोरखा नगरपालिकाको घ्याम्पेसाल चोकमा उक्त मोटरसाइकल फेला परेको उनको भनाई छ ।
यस्तै विभिन्न मितिमा हराएका चार वटा मोबाइल पनि प्रहरीले सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ ।
ब्यक्तिकै असावधानीका कारण पनि सरसामान हराउने भन्दै सावधानी अपनाउन एसपी अधिकारीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्