| शुक्रबार, बैशाख ७, २०८१

कुहिरेभीर र चिल्ड्रेन पार्कमा भ्यू टावर निर्माण सुरु

दराैँदी समाचारदाताः गोरखा नगरपालिकाको दुई ठाउँमा भ्यूटावर निर्माण कार्य सुरु भएको छ । नगरपालिकाको वडा नं. ४ को कुहिरेभीरमा र वडा नं. ५ को चिल्डूेनपार्कमा भ्यूटावर निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ ।

तीन तलाका ती दुवै भ्यूटावरको डिपिसी ढलान भइसकेको नगरपालिकाका इञ्जिनियर प्रकास ढकालले जानकारी दिए । ‘१२ फिट लम्बाइ, १२ फिट चौडाई रहेको तीनतले भ्यूटावर निर्माण गर्न लागेका हौं’, ढकालले भने, ‘चालु आर्थिक बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ एउटा भ्यूटावर निर्माणका लागि नगरपालिकाले कम्तिमा ३५ लाखदेखि ३८ लाख रुपैयाँसम्म लाग्न सक्ने अनुमान गरेको छ ।
‘कुहिरेभीरको भ्यूटावर नर्मिाणका लागि गत आर्थिक बर्ष १० लाख रुपैयाँ बिनियोजन भएको थियो । डिभिजन वन कार्यालयले तीनलाख रुपैयाँ बिनियोजन गरेकोमा एकलाख ६० हजार रुपैयाँ मात्र निकासा दियो’, इञ्जिनियर ढकालले भने, ‘चालु आर्थिक बर्ष दुवै भ्यूटावरका लागि ३० लाख रुपैयाँ बिनियोजन भएको छ ।

कुनलाई कति भनेर छुट्याउन बाँकी छ ।’ फलामे भ्यूटावरको प्रत्येक तलामा दृष्यलावलोकन गर्न मिल्ने गरी निर्माण गरिनेछ उनले बताए । ऐतिहासिक गोरखा बजारको पर्यटन विकास गर्ने उद्देश्यले भ्यूटावर निर्माण गर्न लागिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए ।

दशकौँ अघिदेखि निणर्य गर्दै स्थगित हुदै आएको भ्यूटावर निर्माणको कामलाई अहिले सार्थक रुप दिइएको मेयर पन्तले बताए ।
‘गोरखा बजार आएका पर्यटकलाई उपल्लोकोट, कुहिरेभीरबाट गोरखाका बिभिन्न भूभागको दृश्यावलोकन गराउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो’, मेयर पन्तले भने, ‘नगरपालिकामा जनप्रतिनिधि आउनुअघि पनि पटकपटक निर्माणको निणर्य भएको थियो, तर जग्गा प्राप्ति हुन नसक्दा कार्यान्वयनको चरणमा जान सकिएको थिएन ।

अहिले हामीले जग्गा प्राप्ति गरेर कार्यान्वयन चरणमा गयौं ।’ भ्यूटावरसंगै पार्क, उद्यान, खाजा घर, प्याराग्लाइडिङ सेण्टरलगायतका संरचना बनाउदै जाने लक्ष्य रहेको पनि उनले बताए । भ्यूटावर बनेपछि गोरखामा आएका पर्यटकको गोरखा बजार बसाइ थप्न सकिने विश्वास लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्