| शनिबार, बैशाख ८, २०८१

सिरानचोकको केन्द्र चित्रेपोखरी सर्‍यो

दराैँदि समाचारदाताः गोरखको सिरानचोक गाउँपालिका को केन्द्र चित्रेपोखरी सरेको छ । बुधवार गाउँपालिकाको कार्यालय छोप्राकबाट कार्यालयका सामग्री चित्रेपोखरी लगिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

‘प्राविधिक, प्रशासन, स्वास्थ्य र लेखा शाखाको सामग्री लैजान बाँकी छ’, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘शुक्रबारसम्म सबै सामग्री सार्ने योजना छ ।’ अहिले गाउँपालिकाले कार्यालय सञ्चालनका लागि चित्रेपोखरीमा १९ वटा कोठा भाडामा लिएको छ ।

तीन महिना भित्र ट्रस्ट भबन तयार गरेर गाउँपालिकाको सबै सेवा चित्रेपोखरीबाट दिने योजना बनाएको उनले बताए । गाउँपालिकाको नाममा १२ र १० रोपनीका दुईवटा प्लट छन् भने सँगै प्रहरी चौकीको नाउँमा पाँच रोपनी जग्गाको प्टल रहेको छ । त्यहाँ गाउँपालिकाको भबन निर्माण गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

नेपाल सरकारले छ रोपनीसम्म जग्गा भएको ठाउँमा गाउँपालिकाको कार्यालय राख्न सकिने मापदण्ड तोकेको छ । तर सिरानचोक गाउँपालिका सँग २६ रोपनी सरकारी जग्गा उपलब्ध रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

गत असार ३१ गते गाउँ सभाले सिरानचोकको केन्द्र चित्रेपोखरी सार्ने निणर्य गरेको थियो ।

आउँदो मंगलवारदेखि चित्रे पोखरीबाटै सेवा नियमित सुचारु गर्ने अध्यक्ष गुरुङले बताए । पालिकाको भबन निर्माण नहुँदासम्म भाडाको घरबाट सेवा दिने योजना गाउँपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्