| बिहिबार, साउन २२, २०७७

चुमनुब्रीको नीति कार्यक्रम : कृषि र पर्यटनलाई विषेश प्राथमिकता

तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिएको छ ।

गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नम्बर ३, ४ र ५ लाई स्याउ जोनको रुपमा र १, २, ६, ७ नम्बर वडालाई आलु र सिमी खेतीको पकेट क्षेत्रको रुपमा बिकास गर्ने बताए ।

‘कृषिमा अनुदान दिने र बिउ उपलब्ध गराउने नीति लिएका छौँ’ अध्यक्ष गुरुङले भने । ‘कोही भोकै पैर्दैन, भोकले कोही मदैन’ भन्ने मान्यताले कृषकलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन गाउँपालिकाले सहयोग गर्नेछ । बाली तथा पशुपंक्षि बिमालाई प्रभावकारी बनाउने, कोभिड(१९ का कारण रोजगारी गुमाएर फर्केकाहरुलाई कृषिमा लगानी गर्न प्रेरित गर्ने र गाउँपालिकाले सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

कृषि व्यवसाय गर्न चाहने कृषकलाई बीउबिजन,कृषि औजार,प्रविधि र तालिम दिइनेछ । कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने नीति गाउँपालिकाले लिने गाउँसभामा घोषणा गरिएको छ ।

‘वडा नम्बर १ सामागाउँ, २ को ल्हो र ७ को छेकम्पारमा नमुना चौँरी फार्म स्थापनाका लागि संभाब्यता अध्ययन गरिने योजना गाउँपालिकाको आगामी वर्ष रहेको छ । फलफुल, जडिवुटी, नर्सरी, कुखुरा र हाँस उत्पादन, माछा, मौरी पालन ब्यवशायमा युवालाई प्रोत्साहन गर्ने र गाउँपालिको सहयोग गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

‘संघ र प्रदेश सरकार सँग समन्वय गरेर चुमनुब्री गाउँपालिकाको प्रमुख आधार पर्यटन भएकाले गुरुयोजना तयार गर्नेछौँ’ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने । विश्वको आठौँ अग्लो मनास्लु हिमाल, लार्केपास पदमार्ग, चुमनुब्री उपत्यका, तथा तथा हिमालहरु रहेको चुमनुब्री गाउँपालिकाको पर्यटकिय गन्तब्यको प्रर्वद्धन गर्ने योजना पालिकाले लिएको छ ।

दुध पोखरी, रुपीनाला, कालताल, हिमचुली, पुङगिन गुम्बा, सेराङ गुम्बा लगायतका पर्यटकीय स्थलहरुमा पदमार्गको स्थापना गरी पर्यटक आवगमनमा सहज बनाउने नीति लिइएको अध्यक्ष गुरुङले बताए । स्थानीय संस्कृति भेषभुषा, मौलिकता र परम्परागत पेशा अर्गानिक तथा घरेलु उत्पादनसँग आवद्ध गरी पर्यटन प्रवद्र्धन गर्ने चुमनुब्री गाउँपालिका को योजना छ ।

‘चुम भ्यालीलाई ‘हिंसा रहित चुमभ्याली’ को रुपमा बिकास गर्ने योजना छ’ अध्यक्ष गुरुङले भने । चुम अहिंसा क्षेत्रको सतवार्षिकी कार्यक्रम कोभिड १९ को प्रभावले यस वर्ष हुन नसकेकाले आउँदो वर्ष गर्ने योजना पालिकाको छ । लुघ उद्यम र ब्यवशायलाई आधुनिक रुपमा संचालन गर्न सहयोग गर्ने, स्थानीय स्तरमा उत्पादित बस्तुको बिक्री र प्रर्वद्धनका लागि कोसेली घर संचालन गर्ने, कालोबजारी रोक्न स्थानीय पसलमा मूल्यसुची राख्ने योजना गाउँपालिकाको छ ।

महिला उद्यमीले संचालन गरेको उद्योगलाई विषेश प्राथमिकता दिने नीति लिइएको छ । हरेक वडामा सहकारी, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवस्यक पूर्वाधार तयार गर्ने, विद्यालयबाट टाढा रहेका वस्तीका बालबालिका हरुलाई शिक्षाको सुलभ पहुँच पुर्‍याउनका लागि प्रारम्भिक बाल विकास कक्षा संचालनका लागि अनुमति दिइने गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘विद्यार्थी संख्या र दरबन्दीको आधारमा विद्यालय समायोजनको नीति लिईनेछ’ उनले भने ।

प्रधानाध्यापकहरुको संयूक्त रुपमा शैक्षिक कार्यशालाको आयोजना गरी चुमनुव्री गाउँ शिक्षा नीतिको तर्जुमा गरिने बताइएको छ । वृद्ध माविमा कक्षा ११ र १२ संचालन गर्न प्रक्रिया अघि बढाईने, गाउँपालिका भित्र न्यूनतम योग्यता पुगेको शिक्षित जनशक्तिको लगत संकलन गरि आवस्यकताका आधारमा विद्यालय स्वयम सेवा गर्न उत्प्रेरि गर्ने योजना गाउँपालिकाको छ ।

गोरेटो, घोडेटोबाटो निर्माण र मर्मतमा जोड दिईने, काठेपुल मुक्त गाउँपालिका बनाउने पहल गरिने,पालिका भित्र स्थानीय भबन मापदण्ड बनाई लागु गरिने, साना लघुजलविद्युत आयोजना निर्माणमा सहयोग गर्ने नीति चुमनुब्री गाउँपालिकाले लिएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई श्रममा आधारित रोजगारी कार्यक्रम संचालन गरिने, नागरिकको गुनासो सुन्न जनता सँग अध्यक्ष कार्यक्रम संचालन गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्