| शनिबार, बैशाख ८, २०८१

लार्के जोड्ने सडक निर्माणको काम यसबर्ष पनि सुरु भएन

तिब्बत सीमाना जोड्ने सडक निर्माणका लागिबर्षेनी बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले तेस्रो बर्ष पनि काम सुरु गर्न सकेन ।

बेनिघाट आरुघाट लार्के सडक निर्माणका लागि चालु आर्थिक बर्ष भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई करोड रुपैयाँ बिनियोजन गरेको थियो । तर आर्थिक बर्ष सकिँदा पनि कत्ति पनि काम हुन नसकेको हो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपनि वातावरणीय प्रभाव विश्लेषण (इआइए) तयार नभएका कारण सडक निर्माणको काम सुरु गर्न नसकिएको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

अघिल्लो आर्थिक बर्ष पनिप्रदेश सरकारले सो सडक निर्माणका लागिदुई करोड रुपैयाँ बिनियोजन गरेको थियो । सो रकमले मन्त्री बस्नेत सचिव सहितको टोली सीमाना सम्म पुगेर सडकको सर्भे गरेर फर्केको थियो ।

चुमनुब्री गाउँपालिका वडा नं. १ का अध्यक्ष वीर बहादुर लामा, २ का अध्यक्ष पेम्बा रेता लामा, ४ का अध्यक्ष पेमा डुण्डुप लामा सहित ३५ नंबर पिलर सम्म पुगेर फर्केका मन्त्रीले तिब्बतको कोङदाङ नगरका प्रमुख धाचुङ रुचीसंग पनि भेटेका थिए । भेटमा धाचुङले सडक निर्माणको कामलाई सहज बनाउन डोजर, इन्धन लगायतका सामग्री ढुवानीमा सहज बनाउने आश्वासन दिएका थिए ।

रुई गाउँबाट सीमाना सम्मको १८ किलोमिटर सडक चीन सरकारले यसअघि नै निर्माण सम्पन्न गरी ग्राभेल समेत गरि सकेको छ । तर नेपालतर्फ भने सिँगो चुमनुब्री गाउँपालिका नै सडक सञ्जालसंग जोडिएको छैन ।

सीमानामा रहेको रुई भञ्ज्याङ देखि नाम्रुङसम्म जम्मा ३५ किलोमिटर रहेको छ ।

सो सडक निर्माणका लागिप्रदेश सरकारले पहिलो आर्थिक बर्ष चार करोड रुपैयाँ बिनियोजन गरेको थियो । त्यसबर्ष डिपिआर बनाउने काम सम्पन्नभएको थियो । दोस्रो आर्थिक बर्ष दुई करोड बिनियोजन भएको थियो । त्यसबर्ष मन्त्री सहितको टोली सीमा स्तम्भ सम्म पुगेर स्थलगत अबलोकन गरी फर्केका थियो । यसबर्ष पनि दुई करोड रुपैयाँ बिनियोजन गरेको थियो । तर यस बर्ष केही पनि काम हुन सकेन ।

‘यसबर्ष इआई तयार नभएका कारण काम सुरु हुन सकेन’, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘अव आउँदो आर्थिक बर्ष साउन, भदौदेखि नै काम सुरु गर्ने योजनामा छौं ।’ बेनिघाट, आरुघाट, लार्के सडकको बेनिघाटदेखि नाम्रुङसम्मको खण्ड नेपाली सेनाले निर्माण गर्ने र त्यस भन्दा माथि प्रदेश सरकारले निर्माण गर्ने मन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्