| बिहिबार, साउन २२, २०७७

सडक स्तरोन्नतीमा फिनामबासीको माग

गोरखा नगरपालिका ४ फिनामका बासिन्दाले यथासीघ्र सडक स्तरोन्नतिको माग गरेका छन् ।

 

वडा कार्यालयको आयोजनामा सोमबार सम्पन्न सार्वजनिक सुनुवाइमा त्यहाँका बासिन्दाले सडक ट्य्राक टोलटोलमा पुगेको तर बर्खा लाग्न थालेपछि सवारी साधन गुड्न नसक्ने अबस्थामा रहेको गुनासो गरे ।

गोरखा आरुघाट सडक खण्डको फिनाम खण्ड पनि स्तरोन्नति नहुँदा गाडी चलाउन नसक्ने अबस्था रहेको र टोल तथा बस्तीमा जाने सडकमा पनि गाडी चलाउन नसक्ने अबस्थामा रहेको स्थानीय शिक्षक टेकबहादुर उपरकोटीले गुनासो गरे ।

‘टोलटोलमा सडक त पुगेको छ, तर स्तरोन्नति नगर्दा गाडी गुडाउन सक्ने अबस्था छैन’, उनले भने, ‘गोरखा आरुघाट सडकको पनि फिनाम खण्डमा गाडी गुडाउन नसक्ने अबस्था छ ।’ साथै उनले मधुघाट जाने बाटो स्तरोन्नति गर्न, पुजारीको तलब भत्ताको व्यवस्था गर्न र बज्रभैरव मन्दिरलाई व्यवस्थित गर्न माग गरे ।

त्यस्तै अर्का बक्ता सूर्यबहादुर थापाले सडकको अल्पकालीन समस्या समाधान गर्न खाल्डा खुल्डी पुर्न र ग्राभेल गर्न माग गरे । अर्का बक्ताआशा उपरकोटीले कम्तिमा पनि प्रत्येक टोलमा एम्बुलेन्स पुग्ने गरी सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै अर्का बक्ता समसुद्धिन मियाँले डेरागाउँको मदरसाको अबस्था कमजोर भएकाले सहयोग माग गरे । अर्का बक्ताफजल मियाँले वडा भित्रका विद्यालयहरुको भौतिक अबस्था राम्रो रहेको तर शैक्षिक गुणस्तर नराम्रो रहेको भन्दै आलोचन गरे । साथै उनले संघसंस्थाले गरेको काम राम्रो रहेको तर वडा कार्यालयले गरेको काम नराम्रो भएको आरोप लगाए ।

कार्यक्रमका अर्का बक्ताचित्र खड्काले वडाभित्र सञ्चालन भएका सबै कार्यक्रमहरुको नागरिक सुनुवाई हुनुपर्ने माग गरे । टोलटोलमा एम्बुलेन्स जानसक्ने सडक बनाउनु पर्ने उनको माग थियो ।

त्यस्तै अर्का बक्ता अब्दुलकरिम मियाँले बास्तविक किसानले वडा तथा नगरपालिकाबाट सहयोग नपाएको भन्दै बास्तविक किसानको पहिचान गरी अनुदान लगायतका सहयोग गर्न आग्रह गरे ।

अर्का बक्ता होमबहादुर थापाले भ्यूटावर निर्माण प्रक्रिया सुरु भएकोमा प्रसंसा गर्दै कालुपाण्डे चौतारा निर्माण गर्न माग गरे ।

कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष रामशरण अधिकारीले आफ्नो कार्यकालभरि शिक्षा, स्वास्थ्य, सडक र खानेपानीलाई प्राथमिकताका साथकाम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले नगरपालिकाको बजेटको भोलुम ठूलो देखिए पनि चालु खर्चमा धेरै खर्च हुने र विकास बजेट कमहुने जानकारी गराए । साथै उनले यसबर्ष केही फड्को मार्ने खालका कार्यक्रम गर्ने तयारी भएपनि कोरोनाका कारण सोचे जति काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले हिलो सुकेपछि गोरखा आरुघाट सडकको फिनाम खण्डको हिलो तथा खाल्डाखुल्डीमा ग्राभेल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो कार्यक्रम रेडीयो गोरखाका स्टेसन म्यानेजर किशोरजगं थापाले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्