| शनिबार, बैशाख ८, २०८१

सामाजिक सुरक्षा भत्ता नकाट्न भूपू सैनिक संघको माग

दराैँदी समाचारदाताः नेपाल भूपू सैनिक संघले निवृत्ति भरण पाउनेहरुको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश गर्दै सामाजिक सुरक्षा भत्ता नकाट्न माग गरेको हो ।

संघका जिल्ला अध्यक्ष डिलबहादुर थापाको नेतृत्वमा प्रशासन कार्यालय पुगेका संघका पदाधिकारी तथा सदस्यहरुले पेन्सन र सामाजिक सुरक्षा भत्ता अलगअलग कुरा भएकाले भत्ता कटौती नगर्न माग गरे । ‘सरकारले पेन्सन पाउनेहरुले सामाजिक सुरक्षा भत्ता काट्ने गरी गत असार १६ गते जुन निणर्य गरेको छ, त्यो विभेदकारी छ’, मागपत्रमा भनिएको छ, ‘त्यसैले हामी सो निणर्य फिर्ता लिन र यसअघि झै पेन्सनरहरुलाई पनि सामाजिक सुरक्षा भत्ता यथावत उपलब्ध गराउन माग गर्दछौं ।’ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप दिने गरिएको भत्ता कटौटी गरेर अपमान नगर्न उनीहरुले जोड दिए ।

सो ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्येष्ठ नागरिकहरुको हकहितका पक्षमा उठाइएको आवाज प्रधानमन्त्रीसम्म पुर्‍याइदिने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्