| बिहिबार, साउन २२, २०७७

दोब्बर बढि भाडा लिएर बस चलाउनूः प्रशासन, ‘यो निणर्यले गाडी चलाउन सक्दैनौँः ब्यवशायी

दरौँदी समाचारदाताः जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र ५० प्रतिशत बढि भाडा लिएर गाडी चलाउन गोरखाका यातायात ब्यवशायीलाई अनुरोध गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापन (कमाण्डपोष्ट)को बैठकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने गरी संचालन गर्न दिने निणर्य गरेको हो ।

एक पंक्तिको सिटमा सामाजिक दुरी कायम गर्ने गरी एक/एक जना यात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, यात्रु चढ्ने बेला सवारी साधनको ढोकामा स्यानिटाईजरको ब्यवस्था गर्नुपर्ने, चालक सह-चालकले भाईजर, पन्जा अनिवार्य लगाउनुपर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पुरा गरी ट्याक्सी बाहेकका यात्रुबाहक सवारी साधनले ५० प्रतिशत सम्म बढी भाडा लिन पाउनेछन’ निणर्यमा भनिएको छ ।

निजी सवारी साधनको हकमा भने चालक बाहेक एकै परिवार भित्रका दुई जना र पाँच वर्ष उमेर सम्मका बालवालिकालाई जिल्ला भित्र यात्रा गर्न दिने निणर्य भएको छ । ट्याक्सी ब्यवशायीका लागि पनि निजी सरह यात्रु लिएर हिड्न पाउने निणर्य भएको प्रशासन कार्यालयले जनाएको छ ।
यातायात ब्यवशायीले भने गाडी चलाउन नसक्ने बताएका छन् । ‘यात्रुको सुरक्षाका लागि सबै ब्यवस्था गरेर गाडी चलाउन सक्ने अवस्था रहँदैन’ गोरखा दरौँदी यातायात सेवा प्रालीका महासचिव अन्जनबाबु खत्रीले भने ‘चार महिना सम्म थन्किएको गाडी आधा भाडामा चलाएर ब्यवशायीलाई झनै घाटा छ ।’ तेल, गाडी मर्मत गर्दा, स्वास्थ्य सुरक्षाका सबै उपाए अपनाउँदा प्रशासनले भनेजस्तो आधा सिट यात्रु बोकेर गाडी चलाउन संभव नरहेकाले उक्त निणर्य पुनबिचार गर्न ब्यवशायीले माग गरेका छन् ।

‘सरकारले चलाउनु भनेपनि अहिले तत्काल चल्न सकने अवस्था छैन’ पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालीका प्रेम बोगटीले भने । बैंकको किस्ता लकडाउन अवधीभरको तिर्न नसकिने, समय थप गर्नुपर्ने ब्यवशायीको माग सरकारले संवोधन गरेपछि मात्रै यात्रुबाहक गाडी चलाउन सकिने उनले बताए । यातायात ब्यवशायी महासंघ र सरकार बिच भएको बर्ता निश्कर्षमा नपुगेकाले तत्काल गाडी चल्ने अवस्था नरहेको ब्यवशायी बताउँछन् ।

चैत ११ गतेदेखि कोभिड १९ को संक्रमण फैलिए सँगै सरकारले लकडाउन घोषणा गरेपछि यात्रुबाहक सवारी साधन चल्न छाडेको थियो । अहिले सवारी साधन चलाउन ६० हजार देखि एक लाख खर्च गर्नुपर्ने भएकाले उक्त रकम पनि ब्यवशायी सँग नभएकाले निणर्य कार्यन्वयन गराउन समस्या भएको गुनासो ब्यवशायीको छ । बैंकले असार मसान्त भित्र किस्ता रकम भुक्तानी गर्न ताकेता लगाएको भन्दै ब्यवशायी आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्