| बिहिबार, साउन २२, २०७७

अविरल बर्षातपछि ठाउँठाउँमा बाढी पहिरो, दुवैतर्फको कटानले माछाखोला बजार जोखिममा

दरौँदी समाचारदाताः धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार बाढिको जोखिममा छ । माछाखोला र बूढीगण्डकीको बाढीको कटानले बजार जोखिममा परेको माछाखोला टोल विकास संस्थाका अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।

‘दुवै खोलाले माछाखोला बजारको छेउतिर लगाएको ग्याभिन पर्खाल भत्काएको छ’, उनले भने, ‘अझै तीनदिनसम्म अविरल बर्षा हुन्छ भनेको छ । नदी बजारसम्म आइपुग्छ कि भन्ने डर छ ।’ जलविद्युत आयोजनाले निर्माण गरेको ग्याविन पर्खाल भत्कियो भने त्यसले खोला छोक्ने र खुलेको बेला बजार बगाउन सक्ने उनले बताए । ग्याभिन तार नभै दुवै खोलाको माछाखोलातर्फको किनारमा ग्याभिन जाली भर्नुपर्ने उनको सुझाव छ ।

माछाखोला प्रवेश गर्ने सडकको फुंगीखोला सडक अवरुद्ध गरेको गुरुङले जानकारी दिए । ‘अलिअलि पानी पर्न थालेपछि फुङ्गी खोलाले दुख दिन थालेको हो’, खच्चड व्यवसायी समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ‘मैले आफ्नै खर्चमा १० चोटी बनाइसकेँ । दुईचोटीको चाहिँ गाउँपालिकाले खर्च ब्यहोरेको छ ।
आठचोटीको खर्च मैले बेहोर्नुपर्यो ।’ फुङ्गीखोलाको समस्या दीगो समस्या भएकाले सडक बिभागले त्यसको व्यवस्थापन गर्ने योजना बनाउनु पर्ने उनले बताए ।

यमगाउँका तीन घरमा क्षति

लगातारको बर्षापछिको पहिरोले धार्चे गाउँपालिका ५ यमगाउँको तीन घरमा क्षति पुर्‍याएको छ । स्थानीय साने गुरुङ, महेन्द्र गुरुङ र चन्द्रमान गुरुङको घरमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

यार्साको सामुदायिक स्वास्थ्य इकाइमा क्षति

बिहिबार रातीदेखिको अबिरल बर्षातले धार्चे ६ यार्सागाउँको सामुदायिक स्वास्थ्य इकाइमा पनि क्षति पुगेको छ । हालै ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नयाँ भवनमा क्षति पुगेको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए । भवनको जग पहिरिएपछि स्थानीयबासीको घरबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनले बताए ।

भच्चेक बजारका तीन घर उच्च जोखिममा

लगातारको बर्षातका कारण अजीरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारको तीन घर उच्च जोखिममा परेका छन् । भच्चेकबजारबाट मुच्चोकतर्फ जाने सडकका कारण बजार जोखिममा परेको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिए ।

‘सडकको कुनामा लगाइएको ग्याभिन तारजालीभित्रबाट बाढी खसेका कारण बजार पहिरिने सम्भावना बढेको छ’, उनले भने, ‘यस्तै भइरहे तीनघर पहिरिने सम्भावना छ ।’ यसलाई समाधान गर्न दीगो समाधानको उपाय अपनाउनु पर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्