| शुक्रबार, चैत्र १६, २०८०

जलाएर दाह संस्कार गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण

 

कोरोनाका कारण मृत्यू हुनेलाई जलाएर दाहसंस्कार गर्ने व्यवस्था मिलाइदिन विश्वहिन्दू महासंघ, गोरखाले ध्यानाकर्षण गराएको छ ।

बिहिबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानकर्षण पत्र बुझाउँदै महासंघले धार्मिक, सामाजिक तथा वैज्ञानिक दृष्टिकोणले उपयुक्त विधि जलाएर दाहसंस्कार गर्नु नै रहेको दाबी गरिएको छ ।

विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष रोलकबहादुर थापाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा हाल नेपालमा कोरोनाका कारण मृत्यू हुनेलाई गाडेर दाहसंस्कार गर्ने गरिएकोमा बिमति जनाइएको छ ।

गाडेर दाहसंस्कार गर्दा दुर्गन्ध फैलने, दुर्गन्धबाट अर्को महामारी फैलन सक्ने, जंगली जनावरले शव झिकेर गाउँबस्तीमा, जंगलमा लैजान सक्ने, बर्खे भेलले उतारेर गाउँबस्ती, बगरहरुमा छताछुल्ल पार्न सक्ने त्रास हुने महासंघद्वारा पेश गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेपाल सरकारद्वारा गठित कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिले समुदायको धर्म, संस्कार, संस्कृति अनुसार दाहसंस्कार गर्न दिने निर्देशिकालाई पालना गर्न पनि जोड दिइएको छ ।

साथै अधिकांश नेपालीहरुले बर्षौदेखि शव जलाएर दाह संस्कार गर्ने गरेको र विश्व स्वास्थ्य संगठनले शव गाड्नुभन्दा जलाउनु उपयुक्त भनिरहेको सन्दर्भमा नेपालमा गाड्ने गरिएकोमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै चीन, रुस, ब्राजील, इटली, स्पेन, भारत, श्रीलंकामा पनि जलाएर शवको दाहसंस्कार गर्ने परम्परा भएकाले नेपालले पनि सनातन धर्म, संस्कार र संस्कृति अनुसार जलाएर दाहसंस्कार गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्