| बुधबार, चैत्र २६, २०७६

हिमचुलीको तीन दिवसीय कार्यक्रम सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारी संस्था गोरखाले २७ औँ स्थापना दिवसको अबसरमा गरेको तीन दिवसीय कार्यक्रम सम्पन्न भएको छ । गत फागुन १३ गतेदेखि सुरु भएको तीन दिवसीय कार्यक्रम बिहिबार बिभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए ।

तीन दिवसीय कार्यक्रमको तेस्रो दिन बिहिबार संस्थाका सबैभन्दा जेष्ठ सदस्य सुन्दर भक्त श्रेष्ठ र संस्थाका उत्कृष्ट कर्मचारी जनक बाबु नेपालीलाई पाँच हजार नगद, प्रशंसा पत्रसहिद दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै सोही कार्यक्रममा शेयर सदस्य डा. कमलराज देवकोटालाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने  संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट २० जना बिद्यार्थीहरुलाई नगद, प्रशंसा पत्रसहित पुरस्कृत बितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा गोरखा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, खडानन्द भट्ट, ओम बहादुर श्रेष्ठ, डा.कमलराज देवकोटा, दिलीप देवकोटा, गोवर्धन आचार्य, नानुमायाँ थापा, चेत प्रसाद अंगाई, बाबुराम कोइराला, विष्णु प्रसाद श्रेष्ठ, सहदेव प्रसाद श्रेष्ठ, नारायण बाबु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सहकारी संस्थाले छिपिटोल नयाँ बजार टोल बिकास संस्था र नयाँ बसपार्क टोल बिकास संस्थासँगको सहकार्यमा पहिलो दिन गत मंगलबार सामुदायिक सरसफाई कार्यक्रम गरेको थियो । दोस्रो दिन बुधबार संस्थाले हेड्स नेपाल गोरखाको सहकार्य र सामुदायिक डेण्टल हस्पिटल गोरखाको प्राबिधिक सहयोगमा निशुल्क दन्त परीक्षण गरेको थियो । दन्त परीक्षणबाट एक सय दुई जनाले सेवा लिएको संस्थाले जनाएको छ । शिविरमा २६ जनाले दाँत सफा गरेको, ४२ जनालाई थप उपचारका लागि गोरखा अस्पताल रिफर गरिएको र ३४ जनाको अबस्था सामान्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्