| शुक्रबार, बैशाख ७, २०८१

स्थानीय तहलाई ‘शुत्र’ तालिम

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाले जिल्लाका ११ वटै स्थानीय तहका कर्मचारीलाई सञ्चित कोष ब्यवस्थापन (शुत्र) सम्बन्धी तालिम दिएको छ । मंगलवारदेखि गोरखा सदरमुकाममा सुरु भएको तालिममा हरेक स्थानीय तहबाट लेखा, सूचना प्रविधि(आईटी), र योजना शाखामा काम गर्ने गरी तीन जना सहभागी छन् ।

कुनै पालिकाबाट भने लेखाका दुई र योजना वा आईटी गरी जम्मा ३३ जना तालिममा सहभागी भएको प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्माले बताए । तालिममा बजेट निर्माण, खर्च बिवरण चुस्त दुरुस्त राख्ने, खर्च प्रतिवेदन तयार गर्न सिकाइनेछ । शुत्र सफ्टवेयर सबै स्थानीय तहले अनिवार्य प्रयोग गर्नुपर्ने भएकाले नयाँ आएका कर्मचारीलाई लक्षित गरी तालिम दिइएको प्रमुख कोष नियन्त्रक शर्माले जानकारी दिए ।

‘अहिले स्थानीय तहमा नयाँ कर्मचारी आउनुभएको छ’, शर्माले भने ‘उहाँहरुको क्षमता बढाउन, आर्थिक सुशासन कायम गर्न, पारदर्शिताका लागि तालिम दिइएको हो ।’ तालिमले स्थानीय तहहरुको सञ्चित कोषको सदुपयोग, प्रतिवेदनमा एकरुपता कायम गर्न मद्धत पुग्ने उनले बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखामा कार्यरत कर्मचारीले तालिमको सहजिकरण गरेका छन् ।

प्रमुख कोष नियन्त्रक शर्माको अध्यक्षतामा सुरु भएको तालिमको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरेका थिए । तीन दिनसम्म सिकाइने विषयमा बारेमा प्रशिक्षक युवराज शर्माले जानकारी गराएका थिए । तालिम बिहिवारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्