| शुक्रबार, चैत्र १६, २०८०

पोखरामा क्याम्पस भर्ना, धर्मप्रचार गोरखामा

सुन्दै अनौठो लाग्ने कुरा, ‘पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका विद्यार्थीको डेरा भने गोरखामा ।’ सहजताका लागि क्याम्पसमा भर्ना पनि अन्य कुनै ब्यक्तिले गरिदिएको । ‘पोखरामा शिक्षा शास्त्र संकाय पढ्छु’ भनेर नेपाल आएका बिदेशी विद्यार्थी दिनहुँजसो गोरखामा क्रिश्चियन धर्मको पर्चा र किताब बोकेर हिडेका भेटिन्छन् ।

पोखराको शिवशक्ति क्याम्पसमा (शिक्षा संकाय) अध्ययन गर्ने विद्यार्थीको रुपमा नेपाल आएका चार जना जापानिज नागरिक लामो समयदेखि गोरखा बसेर धर्म प्रचार गरिरहेको खुलेको हो । भिजामा उनीहरु पढ्न आएको, पोखरामा क्याम्पस भर्ना गरेको उल्लेख छ तर उनीहरु सँधै गोरखा सदरमुकाम र यहाँका चर्चहरुमा भेटिने गर्छन् ।

आठ वर्षअघिदेखि जापान आउजाउ गर्ने, विद्यार्थीको भेषमा क्रिश्चियन धर्म प्रचारमा उनीहरु लाग्दै आएका छन् । कागजातमा पोखरामा पढ्ने देखिएपनि उनीहरुले गोरखा सदरमुकाममा घर भाडामा लिएर लामो समयदेखि बसिरहेका स्थानीय बताउँछन् ।

पोखरा क्याम्पसमा भर्ना भएर गोरखामा धर्म प्रचार गर्ने जापानिज नागरिकहरुमा सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा हुन् । सिनो सिकारा कन्कोको डिपेन्डेन्ट भिजामा बस्दै आएका छन् । उनको काम पनि सँगै धर्म प्रचार गर्ने हो । उनीहरु गोरखा नगरपालिका ७ मा रहेको योहोब्वाको साक्षी (चर्च) मा बाईवल पढ्ने, बाइबल बाँड्ने, भाषण गर्ने, स्थानीयलाई जम्मा पारेर धर्मको बारेमा प्रचार गर्ने गर्छन । उनीहरु क्रिश्चियन धर्मको प्रचार, किताब बाँड्दै घरघरमा हिड्छन् ।

मिसा तोमिनागा पर्यटक भिजामा गोरखा आएका जापानी हुन् । उनी बिगत लामो समयदेखि गोरखा नगरपालिका ७ सतिपिपलमा एक स्थानीयको घर भाडामा लिएर धर्म परिवर्तन गराउने काममा सक्रिय छिन् । पर्यटक भिजामा आएर लामो समयसम्म घर भाडामा लिएर धर्म प्रचार गरेको उनी स्वीकार्छिन् । मिसा र सोरी तोमिनागा दुबै जना पर्यटक भिजामा आएका छन् । उनीहरु हरेक वर्ष छदेखि सात महिना नेपाल र बाँकी समय जापान जाने गर्छन । वर्षौँ देखि यो क्रम निरन्तर चलिरहेको उनीहरु स्वीकार्छन् ।

उनीहरुले क्रिश्चियन धर्मसँग आवद्ध ब्यक्तिहरुसँग हिचमिच बढाएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुको परिवारमा बिभिन्न सहयोग गर्ने बहानामा धर्म परिवर्तन गराउन बाध्य पारेको आरोप पनि उनीहरुमाथि छ । मोटरसाईकल लिएर चर्चमा धाउने, पास्टरकहाँ आउजाउ गर्ने क्रियाकलापमा यो समुह सक्रिय छ । टुरिस्ट भिजामा आएकाहरु घुम्न जाँदैनन भने पढ्न आएकाहरु पढ्न जाँदैनन् । कागजात मिलाउन मात्रै उनीहरु कहिलेकहीँ क्याम्पस भर्ना भएको देखिन्छ ।

अर्का जापानी नागरिक अवन सुक गोरखाको गण्डकी गाउँपालिकामा छ वर्ष अघिदेखि बस्दै आएका छन् । चर्च बनाउने, भबन सहयोग गर्ने बहानामा बाईवल पढाउने, लत्ताकपडा, बालवालिकालाई खेलौना दिने गर्दै उनले धर्म प्रचार गरिरहेका स्थानीयबासी बताउँछन् । स्थानीयलाई धर्म परिवर्तन गर्न बाध्य गराउँदै आएका उनले गण्डकी गाउँपालिका ७ को सुकुम्बासी टोलमा जग्गा भाडामा लिएरु घर बनाएर बसेका छन् ।

उनले घरमा आएकाहरुलाई क्रिश्चियन धर्मको प्रचार र परिवर्तन गराउने गरेको तथ्य खुलेको छ । उनले चर्च पनि बनाइरहेको स्थानीय बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शंकास्पद ब्यवहार देखिएका बिदेशी नागरिकलाई प्रशासनले निग्रानी राखेको बताए ।

‘चार जना जापानिजहरुको गतिविधिमा संका लागेर एक हप्ताभित्र जिल्ला छाड्न भनेका छौँ’, उनले भने, ‘भिजामा नेपाल बस्न पाउँछन्, कागजात ‘भ्यालिड’ देखिएको छ, तर गतिविधि र प्रयोजन शंकास्पद छ ।’

गोरखामा अहिले दुई सयभन्दा बढि चर्च छन् । दलित, सीमान्तकृत समुदायको बाहुल्यता रहेको ठाउँमा चर्च धेरै निर्माण हुने गरेको छ । धर्म प्रचारकहरुले कमजोर समुदायका मानिसलाई लोभ लालच देखाएर धर्म बदल्न लगाउने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्