| शुक्रबार, साउन ३०, २०७७

२२ बर्षीय ‘दुधवाला’, जसले ‘लाहुरे’ को सपना त्यागे

दरौँदी समाचारदाता : पछिल्लो समय सानैदेखि गोरखाका हरेक समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । ‘लाहुरे’मध्ये पनि पहिलो रोजाइ ‘ब्रिटिश’, दोस्रो ‘इण्डियन आर्मी’ अनि र ‘नेपाल आर्मी’ ।

छोरीचेलीको बिहे गर्नका लागि बा, आमाले पनि ‘लाहुरे’ कुटुम्ब खोज्ने नेपाली परम्परा हो । युवतीहरुले पनि ‘लाहुरे’ श्रीमानको सपना सजाउँछन् ।

सबैले जस्तै सानैदेखि ‘लाहुरे’ हुने सपनालाई मनमा सजाएर हिँडेका युवा हुन् गोरखा नगरपालिका—३ रातमाटाका शिवजी खड्का । सलक्क मिलेको खाइलाग्दो ज्यान । उचाई ५.४ ईन्च । २०७४ साउनमा पहिलो प्रयासमै २० बर्षकै उमेरमा गोरखाको रणसिंह दलगणबाट नेपाल आर्मी छनौट भए ।

२०७४ साउनमा ‘लाहुरे’ बनेका उनले नुवाकोटको त्रिशुली तालिम केन्द्रबाट २०७५ बैशाख मसान्तमा ९ महिने ‘रिक्रुट’ तालिम सके अनि एक हप्ता छुट्टीमा घर फर्किए । बिदा सकिएलगत्तै अजय दलगण इटहरीमा उनको पोष्टिङ भयो । ‘त्यहाँबाट करिब पाँच महिना ‘लाहुरे’ बनेरै देशको सेवा गरे ।

२०७५ सालको दशैँ नजिक आउँदै थियो, उनले एक्कासी नयाँ सोच गरे अनि आफुले सानैदेखि रहर गरेको ‘लाहुरे’ हुने सपनालाई चटक्कै बिर्सिए । र, नेपाल आर्मीको जागिर छाडेर घर फर्किए ।

‘लाहुरे’ को सपना बिर्साउने त्यो ‘सोच’

नेपाली सेनाको जागिर । जागिर सुरु गर्ने बेलैमा कसम खाएका हुन्छन्, ‘भोक, निन्द्रा, तिर्खा केही भन्दिँन । मेरो घर भनेकै देश हो अनि परिवार भनेकै आम नेपाली । म मेरो ब्यक्तिगत स्वार्थबाट माथि उठेर २४ सै घण्टा देश र जनताको निम्ति ड्युटी गरिहन्छु ।’

खाएको कसमलाई सार्थक तुल्याउन खड्काले पनि करिब पाँच महिना नेपाली सेनाकै जागीरमा रमाए । ‘सानैदेखि लाहुरे हुने सपना, आर्मीको बर्दी लगाएर ड्युटी गर्दा साँच्चै म देश र जनतको रक्षक हुँ जस्तो महशुस हुन्थ्यो’, खड्का नेपाल आर्मीमा बिताएको तितामिठा पल सम्झँदै भन्छन्, ‘ड्युटीमा हुँदा, भित्र काम गर्दा सधैँ खुसी नै हुन्थेँ । कहिल्यै दुखी भएको याद छैन । तर, जब महिना दिनको तलब बैङ्क खातामा १८ हजार छ सय ३० रुपैँया आउँथ्यो, घरको ऋण, बाबु(आमाको आशा अनि आफ्नो भविष्य सम्झँन्थेँ ।’

देशमा हरेक बर्ष चुलिँदै गरेको बजार भाउ अनि बढ्दै गरेको बिबिध कर । अनि सैनिक जवानको तलब । खड्कालाई लाग्न छाड्यो, ‘आफुले सानैदेखि देखेको लाहुरेको सपनाले उमेर ढल्कँदै गरेका बा-आमाको आशा, आफ्ना चाहाना अनि भावी सन्ततिका रहर पूरा गर्न सक्छु ।’ अन्तत : उनले ‘लाहुरे’ को सपना बिर्सिएर आफ्नै गाउँमा भैँसी पालेर ‘दुध’ बेचेर पैसा कमाउने लक्ष्य लिए ।

जागिर छाडेपछिको त्यो पल …
जेठो ताराबहादुर, माइलो सबिन अनि कान्छो शिवजी । शिवजी परिबारका कान्छा सन्तान हुन् । उनीहरु तीनै जनालाई बा(आमादेखि हजुरबा( हजुरआमासम्मले ‘लाहुरे’ या ‘लोकसेवा’ मा जागिर खुवाउने सपना बुनेका ।

तर, जेठो यातायात ब्यबसायी बने । माइलो कपडा ब्यबसायी । कान्छोले नेपाल आर्मीमा भर्ती भएको डेढ बर्ष नपुग्दै जागिर छाड्यो । परिवारमा एउटा छोरो भएपनि लाहुरे भएको खुसीले अनुहार राम्ररी चम्किन नपाउँदै नैराश्यता छायो ।
‘घरमा दिदी बहिनी छैनन्, हामी तीन भाई मात्रै हो । घरमा सबै जनाले हामी तीनैलाई लोकसेवामा जागिर खुवाउने या लाहुरे बनाउने भन्नु हुन्थ्यो ।

दाईहरु आ(आफ्नै पेसा गर्न थाल्नुभयो । म लाहुरे भएको केही महिनामै जागिर छाडेँ । घरका सबैजना दुखी हुनु भयो’, शिवजी भन्छन्, ‘घरका मात्रै हैन, जागिर छाडेपछि मलाई चिन्ने सबैले भेट हुनु बित्तिकै किन बुद्धि बिगारेर जागिर छाडेको ? के गर्छस् अब ? खत्तम गरिस् । बिदेश जा अब यस्तै यस्तै भन्नु हुन्थ्यो ।’

नया“ सपनालाई साकार बनाएपछि . . .

जागिर छाड्ने बेलमै भैँसी पालेर ‘दूध’ बेच्छु भन्ने सोच राखेका उनले करिब २१ लाख रुपैँया लागतमा अहिले गोरखा नगरपालिका वडा नम्बर ३ देउरालीमा बिन्धावासिनी भैँसी फार्म सञ्चालन गरिरहेका छन् । उनले आफ्नो फार्ममा हाल सात वटा उन्नत जातको भैसी पालेका छन् ।

‘मैले भैँसी पालेर दुध बेच्न थालेको धन्नै दुई हप्ता हुन लाग्यो । प्रतिमाना ७५ रुपैँयाको दरले दिनकै एक सय माना दुध बेच्छु’, उनी भन्छन्, ‘दिनमा ७५ सय आम्दानीले महिनामा धन्नै दुई लाख २५ हजार आम्दानी हुन्छ । यताउता खर्च कटाउँदा मासिक ८०/९० हजार कमाई हुन्छ जस्तो लाग्छ ।’

राम्रो कमाई हुने भएको भन्दै उनले ब्यबसायलाई बढाउँदै जाने लक्ष्य राखेको बताए । ‘सात वटा पाल्दा मासिक ८०/९० हजार कमाई हुने निश्चित छु’, उनले भने, ‘पहिले भैँसी किन्दाको ऋण तिरेर सक्छु अनि फेरि भैँसी थप्छु ।’

आफुले छाडेर अरुलाई जाँगिर दिँदा . . .

नेपाल आर्मीको जागिर छाडेर भैँसी पालन सुरु गरेका उनले अहिले दुई जनालाई रोजगार दिएका छन् । ‘अहिले मेरो फर्ममा दुई जना जागिर खाने गर्छन्’, उनले भने, ‘मैले जागिर छाडेपछि सबैले बुद्धि बिगारिस्, खत्तम भइस् भन्थेँ । अहिले अहो ! खै हाम्लाई जागिर दिन्नस् भन्दै जिस्किन्छन् । त्यसरी जिस्काउँदा पनि मैले राम्रो गरेरै यसो भनेका हुन् जस्तो लागेर खुसी लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्