| शुक्रबार, फाल्गुन ९, २०७६

पूर्व लडाकुको सम्झनामा जनयुद्ध

अश्विन दानी : २०५२ साल फागुन १ गतेदेखि गोरखाका बिभिन्न बैङ्क, गैरसरकारी संस्थाहरु कब्जा गर्दै तत्कालीन नेकपा माओवादीले १० बर्षे जनयुद्धको सुरुवात ग¥यो । देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने भन्दै माओवादीले जनयुद्ध शुरु गरेपछि तत्कालीन सरकारका प्रहरीबाट २०५२ साल फागुन १४ गते गोली हानेर गोरखाका १४ बर्षीय दिलबहादुर रम्तेलको हत्या भयो ।

सूर्यज्योति माविका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले विद्यालय हातामा आई पक्राउ गरेर लगेको र सो विद्यालयका विद्यार्थी प्रहरीको पछिपछि ढुंगामुढा गर्दै आएको दृश्य टौवामा चढेर हेरेका व्रह्मचारिणी निमाविका रम्तेलको प्रहरीको गोली लागी मृत्यू भयो । पछि उनी नै १० बर्षे जनयुद्धका प्रथम सहिद बन्न पुगे ।

१० बर्षसम्म चर्किएको जनयुद्ध २०६३ सालमा तत्कालीन सरकारसंग बृहत शान्ति सम्झौतापछि विधिवत रुपमा अन्त्य भयो । यस बीचमा सशस्त्र विद्रोही माओवादीका नेताकार्यकर्ता, काङ्ग्रेसका नेता कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सर्वसाधारण जनता गरी १७ हजारभन्दा बढिको मृत्यू भयो । अनि हजारौँ बेपत्ता र अंगभंग भए । गोरखाका एक सय ८८ जना मारिए भने २४ जना बेपत्ता भए ।

जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै सँगै बन्दुक बोकेर भूमिगत जीवन बिताएका तत्कालीन माओवादीको नेतृत्वमा रहेका नेता—कार्यकर्ताहरु अहिले छुट्टाछुटै पार्टीको कमाण्ड सम्हाल्दै २५ औं जनयुद्ध दिवस मनाईरहेका छन् ।
जनयुद्धका बेला लिएका उद्देश्यहरु प्राप्त भए या भएनन् भन्ने बिषयमा दरौँदी दैनिक पत्रिकाले गोरखाका पूर्व लडाकुहरुसँग गरेको कुराकानी ः—

जनयुद्धमा देखेको सपना पूरा भयो ?
१६ बर्षकै उमेरदेखि जनयुद्धमा लागेर ब्रिगेड कमाण्डरसम्म पुगेकी, जेलब्रेकरको इतिहास रचेकी कमला नहर्की     भन्छिन् ः जनयुद्धपछि हामीले नेपालबाट राजतन्त्रलाई बिधिवत रुपमा हटाउन सफल भयौँ । महिला, दलित, उत्पीडनमा परेका वर्गहरुलाई तत्कालिन समयमा हेर्ने सामन्तवादको अन्त्य गरेर संबिधानबाट नै उनीहरुलाई बिभिन्न हक अधिकार दिन सफल भएका छौँ । अहिले स्थानीय तहदेखि केन्द्रसरकारसम्म उत्पिडित क्षेत्र, जाति, बर्ग, लिङ्गहरुले समावेशिता पाईरहेका छन् । समाजका बिकृति बिसङ्गतिबिरुद्ध सबै नागरिकहरु आवाज उठाउन सक्षम भएका छन् त्यो पनि हाम्रो उपलब्धी हो ।
जनयुद्धपछि संबिधानले ब्यबस्था गरेको हक अधिकारहरु कार्वान्वयनको अबस्थामा थुप्रै चुनौतीहरु छन् । जनयुद्धको सुरुवात गर्दा जुन उद्देश्य हामीले लिएका थियौँ, त्यो पूर्ण रुपमा प्राप्त त भएको छैन । राजतन्त्र अन्त्य भएर गणतन्त्र त आयो तर हामीले त्यतिबेला जनतालाई भनेको जस्तो जनवादी सत्ता प्राप्त गर्न सकेका छैनौँ । साम्यवादको सपना देखेर सुरुवात गरेको जनयुद्ध अन्त्य भएपछि अहिले हामी समाजवाद उन्मुख दिशामा अघि बढिरहेका छौँ । यद्यपि राजनीति र लक्ष्य उद्देश्य भनेको समय परिस्थिति अनुसार फेरबदल भईरहँदो रहेछ ।
तर, म भन्छु जनयुद्धका क्रममा हामीले लिएका उदेश्यहरु मध्य अब एक तिहाई मात्रै पूरा गर्न बाँकी छ । त्यो पनि पूरा गर्न सकिन्छ । समय छ । यस बिषयमा पार्टीले छुट्टै प्याकेज बनाएर अघि बढ्नुपर्छ ।
द्वन्द्व पिडितहरुले उचित राहत पाएका छन् ?
१६ बर्षकै उमेरदेखि २०५५ साल यता जनयुद्धमा संलग्न घ्याल्चोकका सुरेन्द्र बिक भन्छन् ः जनयुद्ध लडेर अंगभंग भएका धेरैजसो साथीहरुको अबस्था अझैपनि दयनीय छ । १० बर्षे जनयुद्धमा घाइते भएकाहरुलाई, शहीद भएका र बेपत्ता भएकाहरुको परिवारहरु मध्य कमैले मात्रै उचित राहत पाएका छन् । जनयुद्धमा योगदान र बलिदान दिने साथीहरुको मुल्याङ्कन गरेर पार्टीले नै नयाँ खालको योजना बनाएर सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
जनयुद्धका योद्धाहरु पिडा र समस्यामा बाँचिरहँदा हामीले देखेका सपना र जनयुद्धका उदेश्य पूरा भएको महसुस हुन सक्दैन ।

जनयुद्धमा नेतृत्व गरेकै ब्यक्तिहरु अझैपनि जनयुद्ध सफल भएको छैन भन्छन् नि !
१६ बर्षकै उमेरदेखि २०५६ सालयता जनयुद्धमा संलग्न भएका फुजेलका अशोक शर्मा भट्ट(नेपाल युवा संघका संयोजक) भन्छन्, ः जनयुद्धको उपलब्धीको बिषयमा गम्भीर समीक्षा पनि भईसकेको छ । जनयुद्ध तत्कालिन समयमा ठिक थियो । पछिल्लो समयमा नेपालको सापेक्षतामा दिर्घकालीन जनयुद्धलाई नै निरन्तरता दिँदा सफल हुन सकिँदैन, त्यसले झन ठूलो क्षति पु¥याउँछ । बन्दुकले लडेर देशमा उपलब्धी हाँसिल हुँदैन भन्ने कुरा बोध भएर त्यस बेला नै हामी शान्ति प्रक्रियामा आएका हौँ ।
तर, अहिले पनि केही साथीहरुले जनयुद्धका कुरा गरिराख्नु भएको छ । हिजोकै जनयुद्धकै प्रकृतिको लडाँईको अर्थ छैन अब । किनकी, हिजो राजतन्त्रको बिरुद्धमा लडेका हौँ । अहिले देशमा गणतन्त्र छ । अब को सँग ? कुन सत्ताको बिरुद्धमा लड्ने ? गणतन्त्रकै बिरुद्धमा लड्ने हो भने हामीले प्राप्त गर्नेचाँहि के हो ?
त्यसैले अबका दिनमा संविधानमा परिवर्तन गर्नुपर्ने कुराहरु के छ ? नीति नियमहरुमा सरकारले कसरी परिवर्तन गर्न सक्छ ? बाँकी रहेका कार्यलाई कसरी पूरा गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल गर्न एउटा आधार तय भएको छ । त्यही आधारमा टेकेर बाँकी उपलब्धीहरुलाई प्राप्त गर्न एकजुट भएर अघि बढ्दा नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस्