| शनिबार, बैशाख ८, २०८१

वेदराज आचार्यद्वारा द्रव्यशाहको राज्यभिषेक

 

यदु अधिकारी, (उपप्राध्यापक गोरखा क्याम्पस)

काशीका राजा कुलमण्डन शाहलाई दिल्लीका सम्राटले शाह उपाधि दिए । उनका सात भाइ छोरा थिए । तिमध्ये कान्छो छोरा यशोब्रम्हा शाहलाई लम्जुङेहरुले असार १५ गते दुराडाँडा नजिकैको ठूलो ढुङ्गामा सिन्दुरजात्रा गरी राज्यभिषेक गरेर राजा बनाए । नरहरि नरपति र द्रव्यशाह गरी उनका ३ वटा छोराहरु थिए ।

माइला द्रव्य शाहलाई गोरखाका व्राम्ह्ण, क्षेत्री र केही मगरहरुले गोरखामा राजा बनाउन चाहेका थिए । द्रब्यशाहलाई गोरखाको राजा बनाउने उनिहरुले रणनिति बनाए । लिगलिगकोटको राजा भएपछि गोरखाको राजा बनाउन सहज हुने आकलन सहित उनिहरुले वि.सं १६१५ वडादशैंको टीकाको दिनमा लिगलिगे दौडमा द्रब्यशाहलाई सहभागी गराई विजयी बनाए । लिगलिगे दौड जित्ने नै राजा बन्ने चलन अनुसार द्रब्यशाह लिगलिगकोटको राजा भए । त्यसपछि द्रव्यशाहले सिरानचोक, अजिरकोटलाई विजय गरे ।

त्यसबेला गोरखाको माझकोटमा मानसिंह खड्का मगर राजा थिए । ७÷७ दिन युद्ध गर्दा पराजित भएपछि तेस्रोपटक १५ दिन युद्ध गर्दा मानसिंह खड्कालाई द्रव्यशाहले तरवारले काटेर गोरखाको राजा भए । उनले खड्कालाई काटेपछि तरवार उछिट्टिएर दलिनमा लागेको थियो । त्यो डोभ ढोकामाथि अझै छँदैछ । उनलाई भागीरथ पन्त, केशव बोहोरा, नारायणदास अर्याल, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन्द भट्टराई, मुरलीधर खवास आदि र गोरखाका ६ थर र ६÷७ थोकले सहयोग गरेका थिए । द्रव्यशाहलाई पस्लाङ्को चौतारोमा वि.सं १६१६ भाद्र २५ गते नारायणदास अर्यालले राज्याभिषेक गरेका भनेर धेरै इतिहासकारहरुले उल्लेख गरेको पाइन्छ ।

तर अर्घाखाँची इस्माका वेदराज आचार्यले नै द्रव्यशाहलाई एक वर्षसम्म दारेगौंडामा लुकाई सत्य तथ्य पत्ता लगाई गोर्खालीहरूको सहयोगमा मानसिंह खड्कालाई हत्या गरी राज्याभिषेक गराएका थिए भनी काशीबाट प्रकाशित वि.सं १९५९ को ग्रन्थ हाल आचार्य वंशावलीमा लेखिएको पाइन्छ । चक्रपाणि चालिसेले वि.सं २००४ सालमा नेपाली भाषामा अनुवाद गरी शान्ति निकेतन पुस्तकालयमा प्रदान गरेका वंशावलीको पेज नं १४ मा सो प्रमाण पाईएको गोरखा छिपिटोल निवासी रामचन्द्र आचार्यले बताए ।

त्यसलाई हाल जगदम्वा प्रकाशनले वि.सं २०५६ सालमा प्रकाशन गरी पुनः ल्याएको देखिन्छ । आचार्य वंशावली पेज नं १४ मा संस्कृत भाषाका ज्योतिष सम्बन्धी श्लोक ५७ देखि ६७सम्म रचना गरी गद्यमा समेत श्लोकलाई उल्था गरी राज्याभिषेकसम्बन्धी कुरालाई थप पुष्टि गरेको देखिन्छ । सो वंशावलीमा लेखिए अनुसार गोरखा माझकोटका मानसिंह खड्का राजासँग २०० गोरखाली जनताहरु रिसाएका थिए । योग्य राजा बनाउनको लागि गणेश पाण्डे, ललित बोहरा, सर्वेश्वर खनाल, भागिरथ पन्त, गंगाराम राना र नारायणदास अर्यालको संयुक्त भेलाबाट लमजुङ्का राजा यशोब्रम्ह कहाँ राजा बनाउनको लागि सल्लाह गर्न जाने निर्णय गरे । तिनीहरुले लमजुङका राजा र रानीलाई गोरखामा द्रव्यशाहलाई राजा हुनेछौ भनी आर्शीवाद दिएको कुरालाई उल्लेख गर्दै राजा रानीलाई विश्वास दिलाए । द्रव्यशाहलाई लमजुङ्बाट गोरखाको छोप्राकमा गणेश पाण्डेको नेतृत्वमा लुकाएर राखे । वि.सं १६१५ वडा दशैंको दिनमा दौडन लगाई लिगलिग कोटको राजा बनाए ।

त्यसपछि गोरखा दरवारको मुनि दारेगौंडाको गुफामा व्रम्ह्चारीको भेषमा साके सम्वत् १४८० श्रावण शुक्ल पंचमी रवीवारको दिनमा द्रव्यशाहलाई लुकाएर राखे । गुरु वेदराजले राजकुमार द्रव्यशाहलाई सहयोग र सद्भाव राख्दै आशिर्वाद दिईरहेका थिए । वि.सं १४८१ भाद्र अष्टमी बुधवार वृष लग्न रोहिणी नक्षेत्रको मध्य रातमा ११.३० वजे पस्लाङ्को चौतारोमा शुभसाइतमा द्रव्यशाह लाई ६ जना साक्षी राखी गुरु वेदराज आचार्यले राज्याभिषेक गराए । त्यसपछि माझकोटमा सुतिराखेका मानसिंह खड्का मगरलाई दरवारको ढोकामा तरवारले काटी द्रव्यशाहलाई राजगद्दीमा राखे भनिएको छ ।

द्रव्यशाहले वि.सं १६१५ विजय दशमीको दिनदेखि करिव १ वर्ष लिगलिगकोटमा राजा भई गोरखा राज्यको राज्यविस्तार गर्न वि.सं १६१६ मा माझकोटको राजा भए । उनी वि.सं १६२७ मा यस धर्तीबाट विदा भए । उनका उत्तराधिकारीहरु रामशाह, पृथ्वीनारायण शाह जस्ताले नेपालको एकीकरण गरी नेपाललाई एक शुत्रमा बाँध्नेकाम गरे । उनको योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्