| बिहिबार, मंसिर ५, २०७६

गुम्दामा आलुमेला सुरु

 

अनुपमा खनाल :

गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा उत्पादित आलुको बजारीकरण तथा प्रबद्र्धनका लागि आलु मेला सुरु भएको छ । थामरा धार्चे युवा क्लब र आलु उत्पादक कृषक समुहको संयुक्त आयोजनामा आइतबारबाट सुरु भएको मेलाको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मेलाको उद्घाटन गर्दै सो क्षेत्रलाई आलु जोनका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गाउँको मुख्य बाली आलुको बजारीकरणका लागि मेला आयोजना गरिएको वडा अध्यक्ष तुलबहादुर गुरुङले बताए । गुम्दामा बाह्रैमास आलु खेति हुन्छ । चिसो ठाउँ भएकाले यहाँको आलु स्वादिलो पनि मानिन्छ । आलु उत्पादन बढाएर बजारीकरण गर्न सके आर्थिक रुपमा पनि गाउँलेलाई फाईदा पुग्ने भएकाले मेला मार्फत आलुको बजारीकरण खोजेको अध्यक्ष गुरुङले बताए ।

गुम्दामा तीन सय घरधुरी छन् । प्रत्येक घरले बार्षिक कम्तिमा २५ टन आलु उत्पादन गर्ने वडा अध्यक्ष गुरुङले जानकारी दिए । आलु भण्डारणका लागि गाउँमा सय टन क्षमताको कोल्ड स्टोर पनि छ । स्थानीय किसानले उत्पादन गरेको आलु धार्चे गाउँपालिका सहित बारपाक सुलिकोट गाउँपालिका, गोरखा बजार, काठमाण्डौ पोखरा लगायतका शहरमा पनि निर्यात हुदै आएको गाउँलेले बताएका छन् ।
मेला मार्फत स्थानीय कला, संस्कृति, पर्यटन र कृषिको विकास गर्ने उदेश्य पनि रहेको आयोजकले जनाएको छ । मेलाको अबसरमा गाउँपालिकाको क्लब स्तरीय महिला तथा पुरुषबिच छुट्टाछुट्टै भलिबल प्रतियोगिता हुने भएको छ । पाँच गतेसम्म हुने मेलामा आलु खाने प्रतियोगिता, गुम्दाको आलु प्रदर्शनी, म्यूजिकल चेयर, स्नोकर र पुल प्रतियोगिता पनि गरिने भएको छ । प्रतियोगितामा विजेतालाई पुरस्कारको पनि ब्यबस्था छ ।

थामरा धार्चे युवा क्लबका अध्यक्ष धनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका भुमीब्यबस्था कृषि तथा सहकारी मन्त्री थापा मगर, पुर्व राज्यमन्त्री छमबहादुर गुरुङ , धार्चे गाउँपालिकाका नेकपा इन्चार्ज लक्ष्मण गुरुङ, स्वाँरा सघन गाउँ विकास केन्द्रका सिताराम श्रेष्ठ, केयर नेपालका माधव ढकाल, क्लबका माइला गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्