| शुक्रबार, बैशाख ७, २०८१

गगनलाई सुन्ने कि प्रधानमन्त्री ज्यू !

वासु घिमिरे  : दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री भएका केपी शर्मा ओलीका सबैभन्दा ठूला फ्यान को रहेछन् भनेर संसद्मा यसो हेरेको त उनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चल्तापुर्जा नेता गगन थापा पो रहेछन् । लेखकले बनाएर दाबी गरेको होइन गगन थापाले आफैँ भनेका हुन्, त्यो पनि संसद्को पहिलो बैठकमा । धेरैले गगनको नचाहिंदो गनगन भयो, खनखन गनेर हिसाब लिन्छु भनेर ठूलो कुरा गर्‍यो पनि भने । तर, गगनले कस्तो बोले र जनतालाई उनले बोलेको कुरा कति चित्तबुझ्यो भन्ने वास्तविकता जान्ने हो भने युट्युबमा उनको भाषण सुन्नेको जमात हेरे थाहा भइहाल्छ ।

यो पत्र विदेशमा बसेको एक जना नेपालीले नेपालको उन्नति र प्रगति होस् भन्ने कामनाका साथ लेखेको हो । त्यसैले यो गगनको जय गान पनि होइन र ओली गाथा पनि होइन । हामीले संसारको सबैभन्दा विकसित र लोकतान्त्रिक मुलुकमा बसेर यहाँको खुला समाज र उदार सामाजिक व्यवस्थाको निकै गौर गरेर अनुभव गरेका छौँ । यहाँका पत्रपत्रिका तथा टेलिभिजन च्यानल कति सशक्त, कति विश्वसनीय छन् भन्ने पनि हेरेका छौंँ । त्यतिमात्र होइन लोकतन्त्र सफल हुन आवश्यक समाजमा प्रश्न सोध्ने र जनताका जिज्ञासा तथा आवश्यकताप्रति जिम्मेवार रहने नेतृत्व पनि देखेका छौँ । यहाँको सामाजिक व्यवस्थाले जो सुकैलाई पनि कानुनको दायरमा बसेर बस्न, खान र आर्थिक प्रगति गर्न सहजीकरण गर्छ । हामी चाहन्छौँ नेपालमा पनि त्यस्तै होस् । त्यसैले हामी चाहन्छौँ नेपालमा पनि प्रश्न सोध्ने र त्यस्ता प्रश्नप्रति जवाफदेही हुने राजनीतिक नेतृत्व होस् । त्यसैले हो प्रधानमन्त्रीलाई यो आह्वान गरेको !

गगन थापाले दुई तिहाइको बहुमत किन चाहियो ? के नेपालमा एकदलीय तानाशाही लाद्न खोजेको हो ? भन्ने प्रश्नमा जति ताली पाए त्यति नै ताली ओलीलाई पनि उनको प्रश्न सुन्ने धैर्य र त्यस प्रश्नको सटीक जवाफ दिनसक्ने वाकपटुतालाई दिनुपर्छ । यहाँ प्रश्न सोध्ने निर्भीक युवामात्र होइनन् प्रश्नको उत्तर दिने जिम्मेवार नेता पनि तालीका उत्तिकै हकदार भएका छन् ।

यहाँ छलफल गर्न लागिएको संसद्को पहिलो दिनको भाषणको जुहारीको विषयमात्र भने होइन । भन्न खोजिएको के हो भने पश्चिमा उदारवादी लोकतान्त्रिक समाजमा जस्तै नेपालमा पनि जनप्रतिनिधिलाई स्पष्टसँग प्रश्न सोधिनु पर्‍यो र सत्तामा रहेका नेतृत्व वर्गले पनि जनताका सम्मुख आफू खरो उत्रिन सक्नुपर्‍यो ।

न त गगनले एकपल्ट प्रश्न सोधेर आफ्नो जिम्मेवारी पूरा भएको ठानी अब चुप बस्न पाउँछन् न त ओलीले नै आफू सर्वसत्तावादी होइन भनेकै भरमा बाँकी जिम्मेवारीबाट उम्कन पाउँछन् । गगन एक प्रतिनिधि पात्र हुन् सम्पूर्ण जनताको प्रश्नको अनि ओली एक जिम्मेवारी बोकेका प्रधानमन्त्री हुन् सम्पूर्ण नेपाली जनताका । त्यसैले यिनको जिम्मेवारीको धोक्रो रित्तिएको छैन र तबसम्म रित्तिँदैन जबसम्म यिनले आफ्नो जिम्मेवारी पूरा गर्नेछन् । जिम्मेवारी पुरा गरेनन् भने जनताले यिनको हातबाट खोसेर सो जिम्मेवारी अरू कसैको विश्वासमा सुम्पनेछ ।

हुनत, ओली सरकारले सत्तासुख भोग गरेको धेरै भएको छैन तर अहिलेसम्मका व्यवहार हेरेर धेरै सन्तोष लिने ठाउँ भने छैन । एकपछि अर्को कार्यक्रमको प्रमुख आतिथ्य गरेर नै प्रधानमन्त्री र मन्त्रिपरिषद्का अन्य सदस्यलाई फुर्सद नभएझैँ देखिएको छ । संविधानले २५ मात्र मन्त्री राख्न दिएको भए पनि नेपालको अवस्था हेर्दा एक जना मन्त्रीलाई  समुद्घाटन, विमोचन, आतिथ्य ग्रहण र वाचाबन्धन मन्त्रालय दिने बेला भइसक्यो । यस्तै विषयमा हो जनताका तर्फबाट प्रश्न सोधिने ।

प्रधानमन्त्री ओलीले धेरै वाचा गरेका छन्, धेरै कुरा पुर्‍याउँछु भनेर कसम खाएका छन् । उनले त पाइपबाट ग्याँस पुर्‍याउनेदेखि समुद्रमा नेपालको जहाज चलाउने र चीनबाट रेल ल्याउनेसम्मका सपना देखाएका छन् । उनले आर्थिक र सामाजिक अवस्थामा गरेका अन्य वाचा पनि धेरै छन्, ती सपना साकार हुन्छन् भनेर जनता आशा पनि गरेर बसेका छन् ।
संसारमै सबैभन्दा ठूलो, शक्तिशाली र लोकतान्त्रिक मुलुकमा बस्दा पनि संसारको एउटा कुनामा रहेको सानो देशलाई अमेरिका जत्तिकै स्वतन्त्र, समृद्ध र शक्तिशाली देखिने चाहना हुनाले बारम्बार यस्ता कुराले चिमोट्छ । शक्तिमा रहनेलाई प्रश्न सोध्ने जनताको अधिकार कुण्ठित नभएसम्म, जनताप्रति जिम्मेवार नभए पनि हुन्छ र शासन त शक्तिशालीले चलाउने हो भन्ने सोचको प्रभुत्व नरहेसम्म देश विकास एवं समृद्धिको बाटोमा अघि बढ्छ भनेर आशा गर्न सकिन्छ ।

संसारको अर्को पाटोबाट यहाँको चाल, चलन, संस्कृति र राजनीतिक वातावरणबाट प्रभावित भएको आधारमा एउटै अनुरोध छ – प्रधानमन्त्री ओलीले गगनजस्ता सशक्त प्रतिपक्षी नेतालाई कोठामा बोलाएर सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्