| आइतवार, माघ ५, २०७६

सम्पूर्ण तलब भत्ता सामाजिक काममा खर्च गर्दै सासंद दवाडी

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएदेखि यो अवधिसम्मको आफ्नो तलबभत्ता समाज सेवामा खर्च गर्दै आएका छन् । यस आर्थिक बर्षको छ महिनाको अवधिमा नौलाख ४४ हजार रुपैयाँ खर्च गरिसकेको बिहिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित सांसद दवाडीले गतवर्ष तलबभत्ता र आफ्नो निजीकोषको गरी १२ लाख ४० हजार रुपैयाँ सामाजिक काममा खर्च गरेका पत्रकार सम्मेलनमा दवाडीले जानकारी दिए । सांसदको तलब भत्ताबाट प्राप्त छ लाख ७९ हजार रुपैयाँ र ब्यक्तिगत दुई लाख ६० हजार रुपैयाँ आमा समुह तथा युवाक्लवलाई सहयोग गरेको सांसद दवाडीले बताए ।

‘मेरो पहिलो प्राथमिकता बिभिन्न रोगले ग्रस्त मानिसको स्वास्थ्यलाई दिएको छु’, उनले भने, ‘जीवनमरणको दोसाँधमा रहेकाहरुलाई उपचारका लागि सहयोग गरेर ज्यान बचाउने पहिलो प्रयास गरेको छु ।’ शिक्षाबाट वञ्चित रहेका बालवालिकालाई पढाउने कामलाई दोस्रो प्राथमिकतामा राखेको उनले बताए । आफू निर्वाचित क्षेत्रका दुर्गम गाउँमा अहिले पनि गरिब जनताको छोराछोरी पढ्नबाट बञ्चित भएको, उच्च शिक्षा पढ्ने आर्थिक स्थिति नभएकालाई सहयोग गरिरहेको सांसद दवाडीले बताए ।

‘म निर्वाचित क्षेत्रका सबै गाउँमा अहिले पनि सडक पुगेको छैन, अर्को प्राथमिकता मेरो सडक निर्माणमा छ’, उनले भने, ‘समयमा एम्बुलेन्स सेवा नपाएर घरमै वा बाटोमै मानिस मर्नुपर्ने अवस्था नआओस् भनेर सहयोग गरिरहेको छु ।’ आमा समूह, युवाक्लव, सामाजिक संघसंस्था र पर्यटनको क्षेत्रमा पनि सहयोग गर्ने गरेको उनले बताए ।

आफ्नो ब्यापार बिजनेशबाट गरेको आम्दानी र सांसद भए बापत प्राप्त तलब भत्ता कटाएर गरेको सहयोगको सहि सदुपयोग भए, नभएको बारे निरन्तर अनुगमन गरिरहेको सांसद दवाडीले बताए । ‘मैले गरेको सहयोगको सहि सदुपयोग भएन भने अर्को पटक सहयोग फरक ठाउँमा दिनेछु, तर अहिले सम्म सहि सदुपयोग भईरहेको भेटिएको छ’, उनले भने, ‘कहीँ दुरुपयोग भएको फेला पार्नुभए समयमै मलाई खबर गर्नुहुन अनुरोध छ ।’ सांसद हुनअघि पनि दवाडीले गोरखाको बिभिन्न विद्यालयमा सहयोग गर्दै आएका थिए ।

राजनीतिमा आउनु अघिदेखि जापान लगायतका बिभिन्न देशमा उनको व्यापार ब्यवसाय थियो । अहिले पनि त्यहाँ उनले ब्यबसाय गर्दै आएका छन् । आफुले कमाई गरेको पैसा र सांसद भएपछिको तलब भत्ता सामाजिक काममा खर्च गर्दा कुनै राजनीति नगरेको दावी उनको छ । ‘सामाजिक काममा सहयोग गरेका हुँ, कुनै राजनीतिक गरेको छैन’, उनले भने, ‘सबैले सहयोग अनिवार्य गर्नुपर्छ भन्ने होइन ।’

निस्वार्थ गरेको सहयोगबाट चिन्तित नहुन बिरोध भावना लिनेहरुलाई उनले अनुरोध गरेका छन् । प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले कांग्रेसबाट निर्वाचित सांसदले आफ्नो सेवा सुविधा सबै जनताका लागि खर्च गरेको भन्दै धन्यवाद दिए । राजनीति जनताका लागि गर्ने र सांसद दावडीले हिजो सांसद नहुँदा र आज पनि जनताका लागि सहयोग गरिरहेको भन्दै प्रशंसा गरे ।

Image may contain: 1 person, standing, child and outdoor

Image may contain: 1 person

प्रतिक्रिया दिनुहोस्