| बुधबार, कार्तिक २७, २०७६

भारतीय नक्शाबिरुद्ध गोरखामा सत्तारुढ दलका युवाहरुको बिरोध प्रदर्शन

 

भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग आफ्नो नक्शाभित्र समेटेको बिरोधमा गोरखामा शुक्रबार पनि बिरोध कार्यक्रम गरिएको छ । सत्तारुढ पूर्व एमाले संवद्ध विद्यार्थी संगठन अनेरास्ववियू, युवा संघ नेपाल, पूर्व माओवादी संवद्ध अखिल क्रान्तिकारी र वाइसिएल गोरखाले हरमटारीचोकमा बिरोध कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा अनेरास्ववियूका जिल्ला अध्यक्ष सञ्जीव थापामगर, विद्यार्थी नेता प्रवीण श्रेष्ठ, राजन आले मगर लगायतले धारणा राखेका थिए ।

बक्ताहरुले तत्काल नेपालको भूमि भारतीय राजनीतिक नक्साबाट नहटाए चरणबद्ध संर्घषमा उत्रने चेतावनी  दिएका छन् ।

भारतीय बिस्तारबादले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि अतिक्रमण गरी नेपालको सार्वभौम अखण्डता माथि ठाडो हस्तक्षेत्र गरेको भन्दै तत्काल कुटनीतिक पहल मार्फत सच्याउन सरकारसंग पनि माग गरेका छन् । भारतले एकतर्र्फी रुपमा नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गर्नु नेपाल माथी सार्वभौमिक अखण्डता माथीको हस्तक्षेपको भएको भन्दै  नेपाली जनताले त्यसलाई कुनै हालतमा स्विकार गर्न नसक्ने बताएका हुन् ।

उनीहरुले सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालिनदीको मुहान भएको र काली नदीलाई नेपाल–भारत सिमाना मानिएकाले उक्त भुभाग नेपालको भएकोमा कुनै दुबिधा नरहेको भन्दै तत्काल सच्याउनका लागि राजनीतिक तथा कुटनीतिक पहलका लागि समेत सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्