| बुधबार, कार्तिक २७, २०७६

अकला माविका शिक्षक, शिक्षिका १९ दिनदेखि हाजिर हुनबाट बञ्चित

यौन दुराचारको आरोपमा पालुङ्टार नगरपालिका ८ स्थित अकला माविका एक शिक्षक र एक शिक्षिकालाई विद्यालयले १९ दिनदेखि हाजिर हुनबाट रोक लगाएको छ ।

यौन दुराचारका कारण समाजमा बिकृति फैलने कार्य गरेको भन्दै स्थानीयबासीले दबाब दिएपछि उनीहरुलाई हाजिर हुन रोक लगाइएको विद्यालय ब्यबस्थापन समितिले जनाएको छ ।

दशैअघिदेखि बिहिबारसम्म १९ दिनसम्म शिक्षक, शिक्षिकालाई हाजिर हुनबाट बञ्चित गरिएको हो ।

‘यौन दुराचारमा लागेर समाजमा बिकृति फैलाएको भन्दै स्थानीय बासीले विद्यालयमा सूचना टाँस गरे । विद्यालय प्रशासन कार्यालयमा ताला पनि लगाए’, समितिका अध्यक्ष अमृत काराखेती ले भने, ‘त्यसैले हामीले नगर शिक्षा कार्यालयसंग समन्वय गरी केही समयका लागि हाजिर हुन नआइदिन आग्रह गरेका हौं । उपयुक्त विद्यालय खोजी सरुवा भईजान पनि आग्रह गरेका छौं ।’ आरोप लागेकी शिक्षिकाका श्रीमानले पनि उनीहरु बीचको शंकास्पद सम्बन्धका बारेमा आफूसमक्ष जानकारी गराउने गरेको अध्यक्ष काराखेतीले बताए । आरोप लागेका शिक्षक, शिक्षिकाले आफूहरुमाथि तथ्यहीन आरोप लगाएर हाजिर हुनबाट बञ्चित गराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ‘आरोप लागेका हामी र शिक्षिकाका श्रीमान स्वयंले पनि अन्यायमा परेकाले न्याय पाउँ भनेर प्रशासन कार्यालयमा निवेदन दिएका छौं’, शिक्षकले भने, ‘हामीलाई समाजमा चरित्र हत्या गरी त्यहाँबाट बिस्थापित गराएर बिभिन्न स्वार्थसिद्ध गर्न चाहनेको हर्कत हो ।’

स्थानीय एक राजनीतिक समूहले आफै सूचना टाँस्ने, आफै ताला लगाउने र भोलिपल्ट आफै निर्णय गर्ने गरी राजनीतिक प्रतिशोध लिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्