| शनिबार, बैशाख ८, २०८१

दशैंका बेला यातायात व्यवस्थित गर्ने बारे जिल्ला प्रशासन कार्यालयको ६ बुँदे निर्णय

 

जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर कार्यान्वयन भए नभएको अनुगमन गर्ने भएको छ । चाडबाडको अबसरमा जिल्लामा यातायात ब्यबस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले सार्वजनिक यातायातमा भाडादर कार्यान्वयन भए नभएको अनुगमन गर्ने लगायत छ बुँदे निर्णय भएको हो ।

सबै सवारी साधनमा यात्रुले देख्ने गरी भाडादर टाँस गर्नुपर्ने र भाडादर कार्यान्वयन भए नभएको ट्राफिक प्रहरीले अनुगमन गर्ने बैठक ले निर्णय गरेको हो । चाडबाडको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिनसक्ने भन्दै अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए ।

बैठकले सार्वजनिक यातायातका साधनहरु तोकिएको समयमा नै तोकिएको स्थानबाट छुट्ने व्यवस्थालाई कडाईपूर्वक पालना गरी यात्रा अवधिलाई पूर्वानुमानयोग्य बनाउन प्रयास गर्ने निर्णय पनि गरेको छ ।

सार्वजनिक यातायातका साधनमा महिला, अपाङ्ग, ज्येष्ठ नागरिकका लागि आरक्षीत सीटहरुमा लक्षित समुदायलाई नै राख्ने व्यवस्थालाई थप कडाईपूर्वक पालना गर्ने पनि बैठकमा निर्णय भएको छ । ज्येष्ठ नागरिकलाई यातायातका साधनमा छुट दिन पनि बैठकले यातायात ब्यबसायीलाई निर्देशन दिएको छ ।

बैठकमा चाडपर्वको समयमा सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, मर्यादित, सहज, सरल र प्रभावकारी तुल्याई यात्रुहरुको सहज, सुरक्षित र भरपर्दो यात्राको सुनिश्चितता गर्ने विषयमा छलफल भएको थियो । जिल्लाका विभिन्न स्थानहरुमा सार्वजनिक यातायात सञ्चालनका लागि रुट परमीट दिनका लागि अध्ययन गर्ने पनि निर्णय भएको छ ।

बैठकमा कतिपय ग्रामीण सडक कालोपत्रे भइसकेकाले भाडादर समायोजन गर्ने छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख, जिल्लाका यातायात कम्पनीका प्रतिनिधी, पत्रकार, उपभोक्ता अधिकारकर्मी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्