| शुक्रबार, अशोज ३, २०७६

कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट

नेपाली कांग्रेस गोरखाले मंगलबारबाट जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्रबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका संस्थापक नेता विपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर दोस्रो चरणको जागरण अभियान सुरु गर्ने नेपाली कांग्रेस गोरखाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
जिल्ला पार्टी कार्यालय तीनधारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति हरिबहादुर घलेले विपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको उद्घाटन गर्ने बताए ।
जसअन्तरत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश निर्वाचन क्षेत्र नं. क को पश्चिमकालीमा केन्द्रिय प्रतिनिधि गोविन्द पुडासैनी, प्रदेश ख को घ्याम्पेसालमा केन्द्रिय प्रतिनिधि चन्द्रबहादुर कुँवर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं क को पालुङटारमा कृष्ण कोइराला र क्षेत्र नं ख को भच्चेकमा ललितकला गुरुङको उपस्थितिमा जागरण अभियान सुरु गर्ने उनको भनाई छ । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए । अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, वडा स्तरीय अन्तरक्रिया लगायतका कार्यक्रमहरु तय गरेको छ ।
पत्रकार सम्मेलन कांग्रेसले वितरण गरेको प्रेस विज्ञप्तिमा सरकारका कामले बाह्य लगानी निरुत्साहित भएको, हत्या हिंसा लगायत अपराधका घटना बढेको, राज्य संरचनाको दुरुपयोग बढेको उल्लेख छ ।
यस्तै, सरकार संविधानको मर्म र भावना विपरीत सत्ता नियन्त्रण, निषेधमा आधारित एक दलीय मानसिकता, चरमशक्तिको केन्द्रीकरण र कुशासनको पर्याय बनेको कांग्रेसले जनाएको छ । मानव अधिकार आयोग र स्वतन्त्र प्रेसलाई समेत संकुचन लगाउने गतिविधि तुरुन्त सच्याउन कांग्रेसले माग गरेको छ ।
हिमाल, पहाड, तराई(मधेश (हिपतम) जागरण नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जानकारी दिएको छ । यसैबीच, मंगलबार विपी जयन्तीकै अबसरमा नेपाली कांग्रेस गोरखाले पुरुषोत्तम दाहाल लगायत केन्द्रिय नेताको उपस्थितीमा जिल्ला पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्