| बुधबार, भदौ ४, २०७६

एक सामुदायिक वन एक उत्पादनमा सांसद अधिकारीको जोड

प्रतिनिधि सभाका सांसद हरीराज अधिकारीले एक सामुदायिक वन एक उत्पादनमा केन्द्रित हुन सामुदायिक वन समुहलाई सुझाव दिएका छन् । वनलाई आम्दानीको स्रोतका रुपमा विकास गर्न उनले सामुदायिक वन समुहलाई आग्रह गरेका हुन् । चौथो सामुदायिक वन दिवसका अबसरमा सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैले संरक्षण गरेको बनको काठ काट्न समुदायले झेल्नुपरेका समस्या समाधानका लागि सम्बन्धीत मन्त्रालयमा ध्यानाकर्षण गराउने बताए । सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन निति जनताको हितमा परिवर्तन गर्न सकिने उनको भनाई छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले वैज्ञानिक वन व्यवस्थापन निति सामुदायिक वन र वन संरक्षणका विरुद्धमा रहेकोले परिमार्जन गर्न माग गरिन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघले बन डढेलोमा परी मृत्यु भएका घलेडाँडा राना गाउँ वन उपभोक्ता समूहका सदस्य पहलमान श्रेष्ठको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष कमल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, डिभिजनल वन अधिकृत तोयानाथ पौडेल, नेकपाका जिल्ला इन्चार्ज कृष्ण धिताल, र सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै, आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष विष्णु राना मगर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, बिरीन्चोक सामुदायिक वनका अध्यक्ष भुरमण घिमिरे, भिमसेन थापा गाउँपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष साधुराम थापा, गोरखा नगरपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघकी निर्मला थापा अधिकारी लगायतले मन्तव्य राखेका महासंघकी सचिव सावित्री थापा मगरले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्