| शुक्रबार, अशोज ३, २०७६

प्रचण्डको टाउकोको मूल्य तोक्नेले अहिले देखिसहेका छैनन् ः ओली

प्रचण्ड भन्छन्: ९ बैशाखमै एमाले-माओबादीबीच एकता हुन्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीच ९ बैशाखमा नै एकता हुने ठोकुवा गरेका छन्। दुई पार्टीबीचको सम्बन्ध अन्त्यन्त सुमधुर रहेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफू निरन्तर सकरात्मक सम्बादमा रहेको र ओलीपनि एकतालाई सम्मानजनक बनाउन गम्भीर रहेको दावी पनि गरेका छन्।

 

‘हामी पार्टी एकता टुङ्गिने बेलामा अझ गम्भीरतापूर्वक छलफल गर्नुपर्ने हुन्छ, किनभने अब एउटै पार्टीका रुपमा अगाडि बढ्ने हो’ विहीबार विहान चितवन भरतपुर पुगेका अध्यक्ष प्रचण्डले नेपालखबरसँग फोनमा कुराकानी गर्दै भने, ‘एमालेसँग एकदम सहज ढंगले सम्बन्ध अघि बढिरहेको छ, एकतामा आशंका गर्नुपर्ने कुनै कारण छैन।’

प्रचण्डका भनाईमा, प्रधानमन्त्री ओली र उनी सहित संयोजन समितिका सदस्यहरु यतिबेला दुई कार्यदलले दिएका प्रतिवेदनहरु अध्ययन गर्दैछन्। ‘संयोजन समितिको अबको बैठकमा तिनै प्रतिवेदनमाथि छलफल गरेर एकतालाई अन्तिम निष्कर्षमा पुर्‍याउने हो’ उनले भने, ‘एकता अन्तिम टुङ्गोमा पुर्‍याउने बेला अलिक बढी छलफल हुनु स्वभाविक हो। तर, यसैलाई आधार बनाएर एकताप्रति आशंका गरिनु स्वभाविक छैन।’

एमाले–माओवादी केन्द्रको कार्यदलले एकतापछि चुनाव चिन्ह, पदीय जिम्मेवारीको बाँडफाँट र जनयुद्धलाई हेर्ने दृष्टिकोणका सम्बन्धी विवाद नमिलाई संयोजन समितिमा प्रतिवेदन पेश गरेका छन्। तर, प्रचण्डले संयोजन अब बस्ने समितिको बैठकले यी विषयमा सहज ढंगले समान धारणा बनाउने दावी प्रचण्डले गरे। भने, ‘सहज रुपमा यी विषयपनि मिल्नेछन्। एकतामा यी कुराले असर गर्ने स्थिति छैन।’

एकता संयोजन समितिको पछिल्लो बैठक २२ चैत्रमा बसेको थियो। त्यो बैठकमा माधव नेपाल संयोजकत्वको बैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदल र रामबहादुर थापा ‘बादल’ संयोजकत्वको संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धी कार्यदलले प्रतिवेदन पेश गरेका थिए। दुबै कार्यदलले लेनिन जयन्तीको अवसर पारेर ९ बैशाखमा पार्टी एकता गर्न सिफारिस गरेको थियो।

प्रधानमन्त्री ओलीले तजविजी तवरले नेपाल सरकारका सचिवहरुको सरुवा गरेपछि र त्यसमा माओवादी केन्द्रका मन्त्रीहरुले आपत्ति जनाएपछि एमाले–माओवादी केन्द्रबीचको सम्बन्धमा दरार उत्पन्न भएको कतिपयको आशंका छ। झन्, बुधबार (२८ चैत्र) बस्ने भनिएको संयोजन समितिको बैठकपनि हुन नसकेपछि एकताप्रतिको आशंका थप चुलिएको छ।

तर, प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो र एमाले–माओवादी केन्द्रका सबै नेता–कार्यकर्ताबीच निकै हार्दिक सम्बन्ध रहेको बताए। ‘काम विशेषले भेट हुन नसकेको दिनपनि प्रधानमन्त्री ओलीसँग दिनदिनैजस्तो फोनमा मेरो कुराकानी हुन्छ’ प्रचण्डले सुनाए, ‘आजै बिहानपनि उहाँसँग फोनमा लामो कुराकानी भयो। दुई पार्टीबीचको सम्बन्ध हार्दिक छ। बाहिर भनिएजस्तो दुबै पक्षमा एकताप्रति कुनै आशंका छैन।’

‘पार्टी एकतालाई कसरी दुबै पक्षका लागि सम्मानजनक बनाउन सकिन्छ भन्नेमा ओली पनि गम्भीर हुनुहुन्छ, एमालेका अन्य नेताहरु पनि। माओवादी केन्द्रको सबै पंक्ति नि उत्तिकै गम्भीर छ’ प्रचण्डले थपे, ‘त्यसैले, बाहिर आशंका गरिएजस्तो पार्टी एकतामा कुनै आशंका छैन। निर्धारित मितिमै एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस्