| शुक्रबार, जेष्ठ २३, २०७७

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अमर्यादित व्यबहार गर्नेलाई पक्राउ गरी कारबाही गरिने

व्यक्तिगत स्वास्थ्य सतर्कताको नाममा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्न खोज्नेलाई पक्राउ गरी कानूनी कारबाही हुने भएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि स्वास्थ्य सुरक्षा सतर्कताको नाम अवाञ्छित व्यवहार गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

‘वर्तमान कठिन समयमा विभिन्न व्यक्तिहरुबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई घरबाट निकाल्ने खोज्ने, गैरकानूनी चेकजाँच गर्ने, आवागमनमा अवरोध गर्ने, दुव्र्यवहार गर्ने, कानून विपरीतका कार्यहरु गरी मनोवल गिराउन खोज्ने, टोल टोलमा प्रवेश निषेध गर्ने जस्ता अमानवीय कार्यहरु हुने गरेको देखिएकोले यस्ता अवान्छित क्रियाकलापहरु नियन्त्रण गर्ने र आवश्यक परेमा नियन्त्रणमा लिई कानुन बमोजिम कार्वाही गर्ने निर्णय भएको छ’, बैठक पुस्तिकामा लेखिएको छ ।

साथै बैठकले खाद्य सामग्री, निर्माण सामग्री, औषधीजन्य सामग्री, कृषि सामग्री, मल, कुखुराका दाना लगायतका अत्यावश्यकीय सामग्रीहरु बिहान छ बजेदेखि बिहान १० बजेमात्र ढुवानी गर्ने निर्णय गरेको छ । यसअघि साँझ छ बजेदेखि बिहान छ बजेसम्म मात्र ढुवानी गरेको थियो ।औषधी ढुवानीका लागि भने बिहान छ बजेदेखि साँझ छ बजेसम्मको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्