| शुक्रबार, जेष्ठ २३, २०७७

कोरोना परीक्षण प्रयोगशाला पोखरामा सञ्चालन गर्न कांग्रेस संसदीय दलको माग

नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले पोखरामा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनको ब्यबस्था मिलाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिएको छ ।

आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक पत्र लेखी संसदीय दलको कार्यालयले पहिलो चरणमा पोखरामा र दोस्रो चरणमा जिल्लाजिल्लामा स्वाब परीक्षण गर्ने ब्यबस्था मिलाउनका लागि आग्रह गरेको कांग्रेसका संसदीय दलका सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपालीद्वारा हस्ताक्षरित सो सुझाव पत्रमा संघ सरकारले चीनबाट मगाएको पिपिई किट र अन्य स्वास्थ्य सामग्रीहरु तत्काल प्रदेशमा पनि मगाएर सबै जिल्लाहरुमा पु¥याउने व्यवस्था मिलाउन पनि माग गरेको छ । त्यसैगरी प्रदेश सरकारले आफ्नो कोषबाट पनि त्यस्तो उपकरण र सामग्री खरिद गरी समस्यालाई सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कोरोना रोग नियन्त्रणमा अहोरात्र खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णको उच्च मनोबलका लागि विमाको साथै प्रोत्सहान भत्ताको व्यवस्था गर्न पनि माग गरिएको छ । लकडाउनको कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरहरुलाई जीवन सञ्चालनका लागि तत्कालै आवश्यक आर्थिक सहायता प्याकेजको घोषणा गर्न पनि कांग्रेसले माग गरेको छ ।

कोरोना महामारी नियन्त्रणको लागि देश लकडाउन भइरहेको समयमा अन्य बिरामीहरुको उपचारको आवश्यक प्रबन्ध गर्न पनि सुझाव दिइएको छ । आजका मितिसम्म कोरोना संक्रमण देखिएका विरामीका साथसाथै विमानमा यात्रा गर्नेहरुको तत्काल पहिचान गर्न तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी तत्काल कोरोना परिक्षण गर्न र परिक्षणको परिणाम नआएसम्म क्वारेन्टाइनमा बस्ने प्रबन्ध गर्न पनि सुझाव दिइएको छ ।

त्यस्तै कांग्रेस संसदीय दलले बैकबाट ऋण लिएकाहरुले बुझाउनुपर्ने ब्याज तथा किस्ता वापतको रकम महामारी नियन्त्रणमा आएपछि तिर्न पाउने व्यवस्था मिलाउन र अत्यन्त कमजोर आर्थिक स्थितिका ऋणीको पहिचान गरी सरकारले नै ऋण मिनाहा गर्ने कार्यक्रम ल्याउन पनि सुझाव दिइएको कांग्रेसका संसदीय दलका सदस्य दवाडीले जानकारी दिए । ।

प्रतिक्रिया दिनुहोस्