| बुधबार, चैत्र २६, २०७६

ताप्लेमा बनेको तीन वटा योजना उपभोक्तालाई हस्तान्तरण

गोरखा नगरपालिका वडा नम्बर २ ताप्लेमा बनेका तीन वटा योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । गोरखा नगरपालिका, कतार रेडक्रेसेन्ट र यूएनडिपीको सहलगानीमा निर्माण गरिएका तीनवटा भिन्न भिन्नै योजना बिहिबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

गोरखा नगरपालिकाको ५६ लाख, यूएनडिपीमार्फत कतार रेडक्रेसेण्टको २६ लाख ६९ हजार र जनश्रमदान आठ लाख ७१ हजारको लगानीमा निर्माण गरिएको जुठीखोला आहाले भञ्याङ खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

उक्त खानेपानी आयोजनाबाट गोनपा २ का तीन सय २२ घरधुरीले लाभ लिने जुठिखोला आहालेभञ्याङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर रानाले जानकारी दिए । ‘अहिले करिब एक सय भन्दा बढिको घरमा पानी बितरण गरिसक्यौँ । करिब दुई सय ५५ जनाको घरमा मिटर जडान भईसक्यो’, उनले भने ‘अरु जोड्ने क्रममा छौं ।’

त्यस्तै कुल ९१ लाख ४६ हजार रुपैँयाको लागतमा बनेको कोखे आहाले सहरीस्वास्थ्य केन्द्र भवन पनि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य केन्द्र भवन निर्माणको बाहेक फर्निचर र आबश्यक उपकरण खरिदका लागि सात लाख ३८ हजार रुपैँया लगानी गरिएको आयोजकले जनाएको छ ।

ताप्लेमै स्वास्थ्य केन्द्र स्थापना भएपछि सबै स्थानीय हर्षित भएको सोही ठाउँका स्थानीय कमला श्रेष्ठले बताईन् । ‘पहिले टाउको दुख्दा होस् या अरु रोग लाग्दा बजार नगए सुखै थिएन’, खुशी ब्यक्त गर्दै उनले भनिन्, ‘तर अब त यही स्वास्थ्य केन्द्र बन्यो हामी सबैलाई स्वास्थ्य सेवा लिन सजिलो हुने भएको छ ।’

उक्त स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा समेत दिईने छ । कार्यक्रममा ३८ लाख रुपैँया लागतमा निर्माण गरिएको मदरसा भवन पनि हस्तान्तरण गरिएको थियो । नेपालका लागि कतारका राजदूत महामहिम यूसुफ बिन महोम्मद अहमद मोहम्मद अल—हेलले कार्यएक्रममा मन्तव्य राख्दै भने, ‘हाम्रो देश कतारमा नेपाली कामदारहरु धेरै हुनुहुन्छ । नेपालीहरुले हाम्रो देश बिकासका लागि धेरै श्रम गरिरहनु भएको छ । त्यसैले हाम्रो देश र नेपालको सम्बन्ध अत्यन्तै राम्रो छ ।’

कतारले आगामी दिनमा पनि नेपालसँग हातेमालो गरेर अघि बढ्न चाहेको उनले जानकारी दिए । ‘नेपालीहरुले हाम्रो देशमा बिकासका लागि काम गरिराख्नु भएको छ । त्यसैले हामीले पनि नेपालको बिकासका लागि सहयोग गरिरहेका छौँ’, उनले भने, ‘आगामि दिनमा कतार नेपालसँग मिलेर काम गर्न चाहन्छ ।’

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रम्ुख अतिथि नेपालका लागि कतारका राजदूत महामहिम यूसुफ बिन महोम्मद अहमद मोहम्मद अल(हेल, यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आईशानी मडाग्रंगोडा लाबे, भूमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्