| शुक्रबार, फाल्गुन ९, २०७६

भीमसेनथापा गाउँपालिकामा किसानलाई मकैको बिउ अनुदान

भीमसेनथापा गाउँपालिकाका किसानले उन्नत जातको मकैको बिउ अनुदानस्वरुप पाउने भएका छन् । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले मकैको खेती गर्न चाहने गाउँपालिकाभरिका सबै किसानलाई उन्नन जातको मकैको बिउ ५० प्रतिशत अनुदान दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए ।

गाउँपालिकाका अनुसार उन्नत जातको मकैको बिउ पाउनका लागि किसानले सम्बन्धित वडा कार्यालयमा आफुलाई आबश्यक बिउको परिमाण खुलाई माग गर्नुपर्नेछ । किसानहरुले वडा कार्यालयमा गरेको माग अनुसार गाउँपालिकाले मकैको बिउ खरिद गरी उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताए ।

‘सबै वडा अध्यक्षहरुलाई किसानको माग संकलन गरेर ल्याउनु भनेका छौँ’, अध्यक्ष पाण्डेले भने ‘एउटा वडामा हामीले आठदेखि नौ क्विन्टल बिउमा अनुदान दिने योजना बनाएका छौँ ।ं’ वडाभित्रको जमिन र त्यहाँ हुने खेतीको मात्रा हेरेर किसानको मागलाई ध्यान दिँदै आवश्यकताका आधारमा बिउ बितरण गर्ने उनले बताए । बिउ खदिका लागि गाउँपालिकाले चालुवर्ष पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरेको जनाएको छ ।
मकैको उत्पादन बढाउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले मकैको बिउ बितरण गर्न लागेको पाण्डेले बताए ।

‘पुरानो जातको मकैको बिउको भन्दा उन्नत जातको रोप्दा उत्पादनमा बृद्धि हुन्छ’, उनले भने, ‘उत्पादन बढि हुने बित्तिकै किसानहरुको आर्थिक बृद्धिदर पनि स्वत बढ्छ ।’ उन्नत जातमा पनि हाईब्रिड नभई मुल बिउ बितरण गरिने उनले बताए । गाउँपालिकाभित्र अधिकांश मानिस कृषि पेसामा आश्रित रहेकाले उनीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी अनुदान दिन लागेको गाउँपालिकाले जनाएको छ ।

उक्त गाँउपालीकाको घाटवेशी, तान्द्राङ, मसेल, क्यामुनटार, टाँरी फाट लगायत ठाँउ कृषि उत्पादनको उर्वर भूमीको रुपमा लिइन्छ । यसअघि पनि किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरि गाँउपालिका र वडा कार्यालयले कृषि र पशुपालनमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्