| शुक्रबार, चैत्र २८, २०७६

उपेक्षामा जैसिङ चुमी

निरङ्कुश राणा शासन व्यवस्थाको बिरोध गरेको सजायँस्वरुप बिसं. १९३३ साल फागुन २ गते गोरखाका लखन थापा र जैसिङ चुमी मगरलाई मृत्यूदण्ड दिइयो । गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराजलाई मृत्यूदण्ड दिनुभन्दा ६४ बर्षअघि राजद्रोहको आरोपमा जङ्गबहादुर राणाको हुकुममा देवीदत्त पल्टन खटाएर फाँसी दिइयो । लखन थापालाई बिद्रोही किल्ला अगाडिको खिर्राको रुखमा र जैसिङ चुमीलाई बेलाउँतीको रुखमा झुण्ड्याएर फाँसी दिइएको इतिहासमा उल्लेख छ ।

सामाजिक तथा राजनीतिक परिवर्तनका निम्ति अघि बढ्दा राज्यद्वारा पक्राउ गरी गोली वा फाँसीद्वारा शहादत प्राप्त गरेका व्यक्ति भनेर लखन थापालाई सरकारले २०५६ सालमा शहीद घोषणा गर्यो । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएकै मितिमा नेपालका प्रथम शहीद भनेर पनि घोषणा ग¥यो ।

उनको नाममा सरकारी सहयोगमा लखन थापा स्मारक बन्यो, देशका बिभिन्न ठाउँमा सालिक तथा स्मारकहरु बने, तर एउटै आरोपमा संगै सहादत पाएका जैसिङ चुमी मगरले कतै चर्चा नपाएका उनका नयाँ पुस्ताहरुको गुनासो छ । ‘लखन थापा र जैसिङ चुमी मगर बाल्यकालदेखिकै साथी थिए । १९११ सालमा उनीहरु दुवै जना मगरहरुको पल्टन पुरानो गोरखगणमा भर्ती भएका हुन् ।

दुवै जना भारतीय जनबिद्रोह दबाउन लखनाउमा खटिएका पनि थिए । दुवै जना १९२५ सालमा क्याप्टेनमा बढुवा भएका पनि थिए । दुवै जना १९२७ सालमा तीन महिने छुट्टिमा संगसंगै घर आएर बिद्रोही किल्ला बनाएर जनबिद्रोहको तयारी गरेका पनि हुन्’, प्रथम जनविद्रोहका योद्धा शहीद जैसिङ चुमी राना मगर नामक पुस्तकका लेखक रुद्रबहादुर राना भन्छन्, ‘लखन थापा समानान्तर सरकारका प्रमुख थिए, जैसिङ चुमी बिद्रोही सेनाका सेनापति थिए । काउले भंगारमा गाउँलेहरुको सहयोगमा चौघेरा, दरबार, कोत बनाएका थिए ।

२४ सय फौज भर्ती गरी टुँडिखेलमा तालिम गर्ने गरेका थिए । हातहतियार जुटाएर १९३२ सालदेखि औपचारिक रुपमा जनविद्रोह सुरु गरेपछि १९३३ फागुन २ गते देवीदत्त पल्टन खटाएर जङ्गबहादुरको हुकुममा उनीहरु दुवैलाई फाँसी दिइयो ।

तर जैसिङ चुमी मगरलाई मात्र किन शहीद घोषणा गरिएन ?’ यसको बिषयमा धेरै ठाउँमा कुरा उठाउँदा पनि सुनुवाई नभएको उनी गुनासो गर्छन् । लखन थापा स्मृति दिवस मनाउन काउले भँगार आएका मन्त्रीहरुलाई पनि गुनासो सुनाएको तर सुनुवाइ नभएको उनका तेस्रो पुस्ताका रत्नबहादुर चुमी मगर बताउँछन् । ‘जैसिङ चुमीलाई पनि शहीद घोषणा गर्नुपर्ने, सालिक, स्मारक बनाउनु पर्ने भनेर वडाअध्यक्षलाई, गाउँपालिकाका अध्यक्षलाई पनि भनेका थियौं । यहाँ आएका बेला चीरञ्जीवि वाग्ले मन्त्री, अशोक राई मन्त्रीको हातमा निवेदन दिएका थियौं तर जसले पनि यस्सो हेर्छन् अनि खल्तीमा हाल्छन्, अनि बिर्सिहाल्छन् ।’

आफ्नो पुर्खाले न्याय नपाएको उनले गुनासो गरे । लखन थापा र जैसिङ चुमीले धर्ममा तिब्र आस्था राख्ने गाउँलेलाई आकर्षण गर्न दरबारभित्र बिभिन्न देवदेवीको मन्दिर पनि बनाएका थिए । ‘दरबारभित्र मनकामना, कालीनाग, भुमे, बराह, भँगेरी र भैरवीको मन्दिर बनाएर पूजा गर्ने परम्परा बसालेका थिए’, बिगत ७३ बर्षदेखि सोही मन्दिरमा पूजा गर्दै आएका उनका नाति ८४ बर्षीय रत्न चुमी भन्छन्, ‘मन्दिर बनाएपछि त्यहाँ गाउँलेहरु पूजा गर्न आउने भए । अनि त्यही बेला गाउँलेहरुलाई राजनीतिक कुरा सिकाएर बिद्रोही सेनामा भर्ती गर्ने गरेका रहेछन् ।’

सो मन्दिरमा पूजा गर्ने प्रवन्ध सरकारलाई गर्ने गरेको तर सुनुवाई नभएको उनको गुनासो छ । सरकारले वास्ता नगरेपछि चुमी मगर खलक आफैआफै मिलेर जैसिङको सालिक बनाउने अभियान सुरु गरेका छन् । ‘लखन थापाको त जताततै सालिकबन्यो । अब हामीले खलक, खलक मिलेर पैसा उठाएर जैसिङको सालिक बनाउन लागेका छौं’, उनी भन्छन्, ‘फागुन २ गते प्रचण्ड आउने ठूलो कार्यक्रम छ ।

त्यही बेला सालिक उद्घाटन(अनावरण) गर्ने इच्छा थियो, तर नभ्याउने भयो ।’ स्थानीयबासीले दुवै जना प्रथम शहीदको उत्थान गर्न प्रथम शहीद लखन थापा तथा जैसिङ चुमी मगर युवा क्लव गठन गरेका छन् । लखन थापा तथा जैसिङ चुमीको प्रवद्र्धन गर्न गाउँपालिकाले वडा नं. ७ का वडा अध्यक्ष शरण श्रेष्ठको संयोजकत्वमा समिति बनाएको छ ।

‘लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने, जैसिङ चुमीलाई शहीद घोषणा गर्ने बुँदाहरु समेटेर पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘त्यो बेलाको टुँडिखेललाई अहिले रङ्गशाला बनाउने काम अघि बढिरहेको छ । अब संग्रहालय निर्माण गर्ने पनि हाम्रो अभियान छ ।’

प्रतिक्रिया दिनुहोस्