| आइतवार, माघ ५, २०७६

काशिगाउँमा हाटबजार : शहरको भन्दा सस्तो विषादि रहित तरकारी

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा स्थानीयले हाटबजार सुरु गरेका छन् । कासिगाउँ कृषि सहकारी संस्थाको सहयोगमा २०७४ सालदेखि सुरु भएको हाटबजार अहिले पनि निरन्तर चलिरहेको छ ।  ‘पहिले महिनामा दुई दिन हुन्थ्यो, अहिले हरेक हप्ता हाटबजार लगाउँछौँ’ सहकारीका अध्यक्ष मञ्जुमाया घलेले भनिन् ।

अहिले सरकारीमा एक सय ५० सदस्य छन् । काशिगाउँ वरपर बाक्लो बस्ती छ । त्यहाँका स्थानीयलाई आरुघाट बजार, गोरखा सदरमुकामदेखि तरकारी लैजान समस्या छ । सडक पहुँच सहज नभएकाले दुई÷तीन दिन लगाएर तरकारी ढुवानी गर्दा स्वस्थकर तरकारी उपभोग गर्न पाएका थिएनन् ।

सहकारीका सचिव देवराज गुरुङले भने ‘हरेक शनिवार हाटबजारमा २० देखि ३० जना किसानले आलोपालो आफ्नो बारीमा फलेको तरकारी, फलफुल बिक्री गर्न ल्याउँछन, आफुसँग भएका बेच्छन् त्यही पैसाले आवस्यक परेको किन्छन् ।’ बिक्री नभएका किसानको खुद्रा मूल्य भन्दा २५ प्रतिशत कम रकममा सहकारीले खरिद गरेर बिक्री गर्छ ।

बारीमा फलाएको तरकारी बिक्री हुँदैन कि भन्ने चिन्ता नभएपछि स्थानीयको तरकारी खेती तर्फ आकर्षण बढ्दो छ । फेज नेपाल नामक संस्थाले हरेक घरमा टनेल बितरण गरेर खेती गर्न सहयोग गरिरहेको वडा अध्यक्ष धनकुमार घलेले बताए । ‘गाउँमै फलेको विषाधी रहित स्वच्छ र ताजा तरकारी स्थानीयले खान पाएका छन्’ वडा अध्यक्ष घलेले भने ‘यसलाई अझै ब्यवस्थित गरेर अघि बढ्ने योजनामा छौँ ।’

अहिले त्यहाँको हाटबजारमा काउली, बन्दा, गोलभेँडा, भुँई स्याउ, तरुल बिक्रीका लागि राखिएको छ । गोरखा सदरमुकाममा प्रतिकिलो ६० रुपैयाँ रहेको आलु कासिगाउँको हाटबजारमा ३० रुपैयाँमा पाईन्छ । यहाँ १२० रहेको काउली त्यहाँ ८० रुपैयाँमा बिक्री हुन्छ । सदरमुकाममा भन्दा सस्तो पाएपछि अन्यत्रबाट कामको सिलसिलामा त्यहाँ बस्दै आएका हरुलाई पनि सहज भएको सहकारीका सचिव देवराज गुरुङले बताए ।

‘तरकारी सकियो भने शनिवार हाटबजार कुर्नपर्छ, ताजा खान पाईन्छ भन्ने बानी यहाँका मानिसलाई परिसकेको छ’ उनले भने । किसानले धेरै उत्पादन गर्न थालेपछि नजिकको बजार माछाखोला सम्म लगेर बिक्री गर्ने योजना सहकारीको छ । अहिले सडक पहुँच सहज नभएका कारण ढुवानी गर्न समस्या भएको छ । गाउँपालिका र वडा कार्यालयले पनि कृषिमा लगानी सँगै प्रोत्साहन बढाउँदै लैजाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्