| शनिबार, बैशाख ८, २०८१

गण्डकी गाउँपालिका वडा नं. ८ गोरखाकै पहिलो काठेपोलमुक्त वडा घोषणा

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ (साबिक घ्याल्चोक गाविस)लाई जिल्लाकै पहिलो काठेपोलमुक्त वडा घोषणा गरिएको छ । शनिवार एक समारोहका बीच सांसद हरिराज अधिकारीले उक्त वडालाई काठेपोल मुक्त वडा घोषणा गरेका वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।

‘अब गोरखा जिल्लालाई नै काठेपोल मुक्त बनाउनुपर्छ’ घोषणा सभामा बोल्दै सांसद अधिकारीले भने, ‘फलामे पोलले विद्युत वितरणलाई सहज बनाउने त छँदैछ, दुर्घटना बाट पनि जोगाउँछ ।’ उक्त वडामा सबै फलामे पोलबाट विद्युत बितरण गरिएको छ । ‘काठेपोल हुँदा जोखिम धेरै हुन्थ्यो, आँधिहुरी, झरीबर्षाका बेला विद्युत प्रशारणमा समस्या आउन सक्थ्यो । फलामे पोल हुँदा त्यस्तो समस्याले दुख दिने छैन’ नेपाल विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखाका इन्जिनियर कृष्ण कंडेलले भने ।

८० देखि ९० वर्ष आयु हुने फलामे पोल गाडेपछि जोखिम पनि कम हुने उनले बताए । वडा नम्बर ७ लाई पनि छिट्टै काठेपोल मुक्त घोषणा गर्न सकिने र गण्डकी गाउँपालिकामा पनि घोषणा गर्न समस्या भएको इन्जिनियर कंडेलले बताए । ‘११ केभी प्रशारण लाईन बितरण भएको करिब ५० वटा पोल फेर्न सकियो भने गण्डकी गाउँपालिकालाई पनि काठेपोल मुक्त घोषणा गर्न सकिन्छ’ उनले भने ।

गण्डकी गाउँपालिकाले अरु वडालाई पनि काठेपोलमुक्त बनाउनका लागि दुई करोड ५० लाख रुपैयाँ खर्चेर एक हजार छ सय पोल खरिद गरिसकेको अध्यक्ष होमबहादुर रानाले बताए । ‘हामीले यो वर्ष गण्डकी गाउँपालिकालाई काठेपोल मुक्त घोषणा गर्ने योजना बनाएका छौँ’ उनले भने ‘बाँकी शाखा पोलहरु विद्युत प्राधिकरणले सहयोग गर्ने अश्वासन पाएका छौँ ।’ काठेपोलमा जोखिम धेरै हुने, विद्युत अनियमित हुनेहुँदा ग्रामिण भेगमा बारम्बार समस्या भएपछि फलामे पोल राख्ने योजना अघि सारेको उनले बताए ।

वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको काठेपोल मुक्त घोषणा कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष तुलसी रेग्मी, बासुदेव रेग्मी, दिपक तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

नेपाल विद्युत प्राधिकरणले गोरखा जिल्लालाई नै यसबर्ष काठेपोलमुक्त बनाउने लक्ष्य राखेको प्राधिकरणका गोरखा वितरण केन्द्र प्रमुख माधव न्यौपानले बताए ।
मेनलाइनका लागि करिब पाँचसय थान र शाखा लाइनका लागि सात हजार थान फलामे पोल गाडेपछि गोरखा जिल्ला नै काठेपोलमुक्त बन्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्