| शनिबार, बैशाख ८, २०८१

सडक निर्माण भएपछि मनास्लु क्षेत्रका पर्यटन ब्यबसायी संकटमा

शिव उप्रेती :

गोरखा : सडक निर्माण हुन थालेपछि लोकप्रिय बन्दै गएको मनास्लु क्षेत्रको पर्यटन पदमार्ग सङ्कटमा परेको छ । बेनिघाट आरुघाट लार्के सडकका कारण पर्यटन ब्यबसाय नै सङ्कटमा पर्ने मनास्लु क्षेत्रका ब्यबसायीहरुको गुनासो छ ।

माछाखोलाभन्दा तल पर्यटक हिडिरहेका बेला गाडी कुदेर समस्यामा पार्ने गरेको स्थानीयबासी बताउँछन् । ‘जहाँ पर्यटन पदमार्ग छ, त्यही ठाउँमा सडक निर्माणको काम पनि भइरहेको छ’, मनास्लु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले भने, ‘पर्यटकहरु हिडिरहेका हुन्छन्, त्यति नै बेला ट्रक, टयाक्टर, जीप कुद्छ । पर्यटकहरु धुलोले ढपक्कै ढाकिन्छन् । कोही मुख छोप्दै हिड्छन् ।’

अहिले धमाधम पर्यटक हिड्ने बेला भएको छ तर बम बिस्फोट गरेर सडक निर्माण गर्ने काम पनि संगसंगै भएको छ । ढुङ्गा झरेर उनीहरुलाई लाग्ने सम्भावना पनि छ ।’
माछाखोला भन्दा माथिको खण्डमा बम बिस्फोट गरेर सडक निर्माण गर्दा सोही बाटो भएर हिड्ने पर्यटक असुरक्षित हुने गरेको स्थानीयको गुनासो छ । ‘पहरो फुटाउन बम बिस्फोट गर्ने बेलामा पदमार्ग अबरुद्ध पार्छन् । केही समयपछि बाटो खुल्ला त हुन्छ तर ढुङ्गा खसेर लाग्ने जोखिम हुन्छ’, कार्कीले भने, ‘सर्बसाधारण जनतालाई विकास त चाहिन्छ तर सडकले पर्यटन ब्यबसायचाहिँ सङ्कटमा पर्छ । पर्यटन क्षेत्रमा लाखौं, करोडौं लगानी गरेका ब्यबसायीहरु निराश छन् ।’ सडक निर्माण भइसकेपछि हिड्न चाहने पर्यटक आउन छाड्ने उनले चिन्ता ब्यक्त गरे ।

मनास्लु क्षेत्रमा अघिल्लो बर्ष आठ हजार पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ । यसबर्ष अघिल्लो बर्षभन्दा धेरै पर्यटक आउने सम्भावना रहेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । असोज महिनामा मात्र दुईहजार भन्दा धेरै पर्यटक आएका र कात्तिकको यो समयमा अघिल्लो बर्षभन्दा धेरै पर्यटक आएका उनले बताए ।

तर सडक निर्माण भएपछि पैदल हिड्ने पर्यटक कम हुने अर्का पर्यटन ब्यबसायी सुजन गुरुङ बताउँछन् । ‘सडक निर्माण भएपछि आन्तरिक पर्यटक आउँछन् । विदेशी पर्यटक पनि आउलान् तर उनीहरु हिड्ने बाटो, बास बस्ने स्टेशन फेरिन्छ । हिड्ने, बस्ने अबधि छोटो हुन्छ । जसले गर्दा अहिले झैँ बाटोमा होटल ब्यवसाय सञ्चालन गरेका ब्यबसायीहरु समस्यामा पर्छन् ।’

अहिले चुम उपत्यका र नुब्री उपत्यका भ्रमणका लागि २२ दिन, लार्के पासका लागि १५ दिन, चुम उपत्यका भ्रमणका लागि १३ दिन र रुपिङ्ला पासका लागि १० दिनको यात्रा गर्ने गर्छन् ।

सडक निर्माणका कारण मनास्लु क्षेत्रमा पदमार्ग मासिएर खच्चड र पर्यटक तथा स्थानीयबासी हिड्न समेत समस्या हुने गरेको यात्रु बताउँछन् ।
पर्यटन ब्यबसायलाई जोगाइराख्न बैकल्पिक पदमार्ग बनाउनु पर्ने मनास्लु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्की बताउँछन् । ‘यस क्षेत्रका विकास भनेको नै पर्यटन विकासबाट सम्भाव छ’, उनले भने, ‘पर्यटन व्यवसायलाई धरासायी हुन नदिन बैकल्पिक पदमार्ग बनाउनु पर्छ । जस्तो कि पदमार्ग बूढीगण्डकी वारिवारि भए सडक पारिपारि बनाउनु पर्छ । जगतबाट दूधपोखरी जाने बाटो बनाउने, यारुबगरबाट गणेश हिमाल जाने, रुपिङ्ला पास गर्ने पदमार्गको विकास गर्ने, चुमभ्यालीबाट लार्केपास गर्ने सिधा बाटो बनाउने गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्