| बुधबार, कार्तिक २७, २०७६

सीमा प्रशासन कार्यालय सिर्दिबासमा कार्यालय सहयोगी मात्र

दुर्गमका बासिन्दालाई प्रशासनिक सेवा दिन स्थापना गरिएको इलाका प्रशासन कार्यालय सिर्दिबासका सहयोगी हिराबहादुर गुरुङ नागरिकताको ढड्डा पल्टाएर बिवरण खोजिरहेका थिए । जिल्ला प्रशासन कार्यालय गोरखाबाट सोधिएको बिवरण सहि या गलत भनेर टेलिफोनमा जानकारी उनको दैनिकी हो ।
कार्यालयको ढड्डा पल्टाएर बिवरण हेर्ने, नागरिकता बनाए÷ नबनाएको रेकर्ड हेर्ने र जिल्लाबाट सोधेको प्रश्नको जवाफ दिन उनी पोख्त भइसकेका छन् । अधिकृत तहका कर्मचारी नबसेपछि सेवा क्षेत्र भित्रका स्थानीय सेवाग्राही नागरिकता बनाउन जिल्ला सदरमुकाम धाउन बाध्य छन् ।
हिमाल पारीका गाविस भनेर चिनिने हालको चुमनुब्री गाउँपालिकाको चुम्चेत, छेकम्पार, सामागाउँ, ल्हो, प्रोक र बिहीका स्थानीयलाई नागरिकता बनाइदिन का लागि इलाका प्रशासन कार्यालय सिर्दिबासको स्थापना गरिएको हो । तिब्बत सँगको सिमा नाका भएकाले नेपाल(चीन सिमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान÷प्रवेश अनुमति पत्र पनि त्यहाँबाट दिने, नबिकरण गर्ने काम पनि इलाका प्रशासन कार्यालयको काम हो ।
यो कामका लागि अधिकृत स्तरको कर्मचारी, नायब सुब्बा, खरिदार र एक जना कार्यालय सहयोगीको दरबन्दी तोकिएको छ । तर कार्यालयमा सँधै कार्यालय सहयोगी मात्रै भेटिने स्थानीयबासी बताउँछन् ।
अधिकृत शिवबहादुर गौतम र सुब्बा रामप्रसाद शर्मा असोज ८ गते पुगेर एकहप्ता मात्र बसेर १४ गते फर्किए । उनको असारमा दरबन्दी कायम भएपनि त्यस अघि सम्म पुगेका थिएनन् ।
दशैँ अघि एक पटक पुगेका बेला चुमनुब्री गाउँपालिका ५ बिहीमा ६८ जनालाई नागरिकता बाडेर फर्किएका थिए । एक जना खरिदार दरबन्दी तोकिए पनि अहिले सम्म हाजिर भएका छैनन । चार वर्ष देखि सहयोगी भएर बसेका उनले भने ‘सरहरु कहिलेकाँही आउनुहुन्छ, फेरि जानुहुन्छ, कहिले कहिले यहाँ मान्छे आए भने नम्बर लिएर फर्कन्छन् ।’
त्यहाँ कर्मचारी नहुँदा नागरिकता बनाउन, कार्ड नबिकरण गर्न दुई दिन समय खर्चेर जिल्ला प्रशासन जानुपर्ने बाध्यता रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष रामकुमार गुरुङले कर्मचारी नियमित नबस्दा स्थानीयले दुःख पाएको बताए । ‘घरै छेउमा बन्ने नागरिकता र अन्य प्रशासनिक कामका लागि सदरमुकाम जान खर्च र समय पनि धेरै लाग्छ’ उनले भने । अहिले मात्रै नभएर यस अघि त्यहाँ खटिएका कर्मचारी पनि नियमित कार्यालय नबसेको स्थानीयको गुनासो छ ।
सिमा प्रशासनका प्रमुख शिव प्रसाद गौतमले हरेक महिना तबल खान एक पटक सदरमुकाम स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय जानुपर्ने भएकाले नियमित कार्यालय बस्न नसकेको दावी गरे । ‘टाढा बाटो भएकाले आउन जान समस्या छ, । चाडबाड भएर दशैँ तिहारको बिचमा आइएन’ अहिले कार्यालयमै छु’ उनले भने ‘‘जनताले नियमित भईदिए हुन्थ्यो भन्ने चाहान्छन्, तल गईरहनुपर्ने कामले समस्या हुँदो रहेछ ।’

प्रतिक्रिया दिनुहोस्