| शनिबार, बैशाख ८, २०८१

भारतीय नयाँ नक्शाको बिरोध मा गोरखामा युवाहरुको प्रदर्शन

नेपाली भूमिलाई समेत समेटेर भारतीय गृहमन्त्रालय तयार गरेको नक्साबाट नेपाली भूमी हटाउन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट गोरखाका चार संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
नेकपा निकट युवा संघ, वाइसियल नेपाल, अखिल क्रान्तिकारी र अने रास्ववियूले बिहिबार एक बिरोध कार्यक्रम गर्दै संयुक्त ज्ञापनपत्र पठाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पठाइएको ज्ञापनपत्रमा सीमा विवाद मिलाउन गठन भएको दुई देशका परराष्टू सचीव स्तरीय संयन्त्रको बैठक एक पटक पनि नबसि भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाइएको छ ।
नाकावन्दी का कारण बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको बेला भारतले नेपाललाई फेरि पनि झस्काएको ज्ञापनपत्रमा उल्लेख छ । सन् १८१६ को सुगौली सन्धी अनुसार कालीनदी नेपाल र भारतको सीमा भएको स्मरण गराउँदै युवा र विद्यार्थी संगठनहरुले लिम्पियाधुरादेखि लिपुलेकसम्मको तीनसय ७२ वर्गकिलोमिटर नेपाली जमिन भारतले कब्जा गरेको दावी गरेका छन् ।
भारतले नेपाली भूमी नछाडे युवा तथा विद्यार्थीहरु प्रतिकारमा उत्रने पनि नेकपा निकट युवा तथा विद्यार्थी संगठनहरुको संयुक्त ज्ञापनपत्रमा लेखिएको छ । ज्ञापनपत्रमा युवा संघ गोरखाका सहसंयोजक सुमन श्रेष्ठ, वाइसियल नेपाल गोरखाका सचीव बालकृष्ण परियार, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विष्णु पाण्डे र अनेरास्ववियू गोरखाका अध्यक्ष प्रविन श्रेष्ठले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्र बुझाउनु अघि युवा तथा विद्यार्थीहरुले गो ब्याक इण्डिया लेखेको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्