| शुक्रबार, मंसिर २०, २०७६

नक्कली चुरोटको बिगबिगी

 

सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ।

नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ। तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्।

नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन। तर, चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीले बताए। ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ’, भण्डारीले भने, ‘दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको छ।’

धनुषामा सबैभन्दा बढी नक्कली चुरोट भित्रिएको र दुई महिनाभित्र करिब डेढ करोडको कारोबार भएको भण्डारीले जानकारी गराए। ‘व्यापारीलाई सस्तो पर्ने तर, खुकुरी र शिखरकै मूल्यमा सर्वसाधारणलाई बेच्ने काम भइरहेको छ’, भण्डारीले भने, ‘सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि बलेकियालाई कार्बाही गरिएन भने हाम्रो व्यवसाय नै धराशयी हुन्छ।’

धनुषाबाट ठूलो परिमाणमा नक्कली चुरोट बरामद

धनुषाको गोदारस्थित रुबी किराना पसल र सम्झना किराना पसलको गोदाममा छापामारी गरी खुकुरी र शिखर ब्रान्डका नक्कली चुरोट ठूलो परिमाणमा बरामद गरिएका छन्। आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीले बिहीबार दुवै किराना पसलमा छापा मार्दा दुई कार्टुन खुकुरी चुरोट र दश प्याकेट शिखर चुरोट बरामद गरेको थियो।

नक्कली चुरोट बिक्री गर्ने दुवै पसलका सञ्चालक बुवा र छोरा रामप्रयाग साह र दिनेश साहलाई पक्राउ गरी कार्बाही प्रक्रिया अघि बढाइएको जिल्ला भन्सार कार्यालय जनकपुरका प्रमुख रामेश्वर झाले बताए। ‘हामीले बजारमा सूर्य नेपालको ब्रान्डका चुरोटको डुप्लिकेट छ्यापछ्याप्ती बिक्री भएको थाहा पाएका छौं’, प्रमुख झाले भने, ‘यस्ता चुरोट बजारमा कसरी भित्रिरहेका छन् त्यसको रोकथामका लागि सीमाक्षेत्रका प्रहरी सक्रिय हुनुपर्छ।’

यता, सशस्त्र प्रहरी बल धनुषाका प्रमुख राजेश उप्रेतीले नक्कली चुरोट तस्करी भइरहेको आफूलाई समेत जानकारी रहेको बताए। ‘कुन नाकाबाट नक्कली चुरोट भित्रिरहेको छ त्यसको सूचना संकलनको काम गर्दै छु’, प्रमुख उप्रेतीले भने, ‘यसमा तस्करलाई सघाउने काम मेरा कुनै कर्मचारीबाट भएको थाहा पाए भने तिनलाई कडा कार्बाही गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्