| शनिबार, कार्तिक २, २०७६

गोरखाका ट्याक्सी चालक अब पहेलो जाकेटमा

गोरखाका ट्याक्सी चालकहरुले अबदेखि पहेलो रङको जाकेट लगाएर मात्र ट्याक्सी चलाउने भएका छन् ।
ट्याक्सी ब्यवसायीहरुको साझा कम्पनी मनकामना यातायात सेवा प्रालिले जिल्लाभरि ट्याक्सी सेवा सञ्चालन गर्ने चालकहरुलाई एउटै रङको(पहेँलो) जाकेट वितरण गरेको छ । बुधबार आयोजित विश्वकर्मा पूजा तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा प्रालिमा आवद्ध ७६ जना चालकलाई जाकेट वितरण गरिएको प्रालिका कोषाध्यक्ष देवेन्द्रजंग कुँबरले जानकारी दिए ।
ट्याक्सी चालकलाई चिन्न सजिलो होओस् भन्ने उद्देश्यले जाकेट वितरण गरिएको उनले बताए । ‘युनिफर्मले कामदारलाई जिम्मेवार बनाओस् भन्ने उद्देश्यले हामीले जाकेट वितरण गरेका हौं’, उनले भने, ‘जाकेटका कारण सर्वसाधारणले ट्याक्सी चालक को रहेछ भनेर सजिलै चिन्न सक्नेछन् ।’
प्रत्येक ट्याक्सीमा भाडादरको सूची अनिवार्य राख्न चालकलाई प्रालिले निर्देशन दिएको छ । ‘भाडा महँगो लियो भनेर गुनासो आएको छ, भाडादरको सूची राखेपछि यात्रुहरु ठगिदैनन्’, उनले भने ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका ट्राफिक इञ्चार्ज एसपी विनोद घिमिरेले रातो प्लेटले भाडाका यात्रु बोकेको भन्ने गुनासो बढिरहेकाले त्यसलाई तत्काल रोक्न जिल्लाका ट्राफिक इन्चार्ज लाई निर्देशन दिए । यदि जिल्लाका ट्राफिकले आनाकानी गरे भने सिधै आफूलाई सम्पर्क गर्न ९८५६० ००१०३ नम्बर दिएका छन् ।
रात्रीकालीन सेवाका लागि ट्याक्सी ब्यबसायी तयार रहेको प्रालिका अध्यक्ष ताराबहादुर खड्काले बताए । ‘जिल्लामा एम्वुलेन्सको संख्या कम छ, रातको समयमा कोही बिरामी परे भने एम्वुलेन्स नपाएर छट्पटाउनु पर्दैन, तत्काल सेवा दिनका लागि हामी सबै व्यवसायी तयार छौं’, उनले भने ।
कार्यक्रमकै अवसरमा दुइ ट्याक्सी चालक सम्मानित भएका छन् । सुनिल बिक र बाबुराम परियारलाई सम्मान गरिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्