| शुक्रबार, अशोज ३, २०७६

निजामति सेवा दिवसमा बिभिन्न कार्यक्रम, दुई कर्मचारीलाई दीर्घसेवा पुरस्कार

गोरखामा विभिन्न कार्यक्रमका साथ निजामति सेवा दिवस मनाईएको छ । कर्मचारी सम्मान, निबन्ध प्रतियोगिता, अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रमका साथ जिल्लाका कर्मचारीले निजामति सेवा दिवस मनाएका हुन् । कर्मचारी मिलन केन्द्र गोरखाको आयोजना तथा निजामति सेवा दिवस जिल्ला समारोह समिति र आधिकारीक टूेड युनियनसंगको सहकार्यमा दिवसका अबसरमा ३ दिन विभिन्न कार्यक्रम भएको हो ।

दिवसको अबसरमा आइतबार जिल्लाका दुई कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित भएका छन् । जिल्लामा कार्यरत कर्मचारीमध्ये सबैभन्दा लामो समय सेवा गर्ने स्वास्थ्य कार्यालयका सिनियर अनमी मोतीमाया श्रेष्ठ र मालपोत कार्यालयका टाइपिष्ट खरिदार अजय श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तै सार्वजनिक सेवा प्रवाहमा निजामति कर्मचारीको भूमिका विषयक निवन्ध लेखन प्रतियोगिता पनि भएको छ । प्रतियोगितामा खाद्य तथा पोषण सुधार आयोजनाका अधिकृत लेखराज ढकाल पहिलो, शहरी विकास तथा भवन कार्यालयका इश्वरवन्धु सुवेदी दोस्रो र गोरखा नगरपालिकाका चित्रबहादुर अधिकारी तेस्रो भएका छन् । उनीहरुलाई नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको हो । दिवसकै अबसरमा मानव स्वास्थ्यमा आयुर्वेदको भूमिका विषयमा गोरखा आयुर्वेद कम्पनीका आयुर्वेदिक फर्मासिस्ट अनिल कुमार शाहले जानकारी गराए ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका निजामति कर्मचारीहरुले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता गरेका छन् । निजामति सेवा परिस्कृत हुँदै जनमुखी बन्दै गैरहेको उनीहरुको भनाई छ । सरकारको नीति कार्यान्वयन गराउने मुख्य दायित्व निजामती कर्मचारीको भएकाले जिम्मेवारी बोध गरेर अघि बढ्ने उनीहरुले बताएका छन् ।

दिवस मनाउन गठन गरिएको मुल समारोह समितिका संयोजक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारी, निजामति कर्मचारीहरुको आधिकारीक टूेड युनियनकी जिल्ला उपाध्यक्ष सरुना पोखरेल, कर्मचारी मिलन केन्द्र गोरखाका अध्यक्ष रामशरण आचार्य, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । दिवसकै अबसरमा जिल्लाका सबै सरकारी कार्यालयमा पहिलो सेवाग्राहीलाई सम्मान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्