| शनिबार, कार्तिक २, २०७६

अध्यक्षले खेलेकाे फिल्मलाई गाउँपालिकाले दियो १० लाख

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘साङ्लो’ तयार भइरहेको छ । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायांकन भइरहेको छ । यस चलचित्रका लागि डोटीको जोरायल गाउँपालिकाले विकास बजेटबाट १० लाख रुपैयाँ दिएको छ । रकम निकासा गरेका गाउँपालिका अध्यक्ष आफैंले चलचित्रमा अभिनयसमेत गरेका छन् ।

जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।चलचित्रले डोटीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने भएकाले ‘पर्यटन प्रवर्द्धन’को शीर्षकमा उक्त रकम चलचित्रलाई दिइएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘हाम्रो ठाउँमा आएर चलचित्रको छायांकन भइरहेको छ । यहाँको सुन्दर ठाउँहरु चलचित्रमा देखाइएको छ । यहाँको संस्कृति चलचित्रमा देखाइएको छ । त्यसैले यहाँको पर्यटन विकासका लागि भनेर उक्त बजेट चलचित्रलाई दिएका हौं ।’

तर गाउँपालिकाको यो निर्णयको भने विरोध भइरहेको छ । अध्यक्षले आफूलाई विरोधको बारेमा केही थाहा नभएको बताए । उनले अनलाइनखबरसँग भने–‘ म एक्लैले निर्णय गरेर चलचित्रलाई पैसा दिएको होइन । सबैको सहमतिमा पैसा दिने निर्णय भएको हो । विरोध कसले गरेको छ, थाहा भएन ।’उनले यो रकम निर्माताको गोजीमा हाल्न नदिएको बताए । उनले, निर्माण टीमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट दिएको खुलाए ।

चलचित्रमा अध्यक्ष ओझाले पनि अभिनय गरेका छन् । चलचित्रमा अभिनय गर्नैका लागि पनि उक्त पैसा दिएको आरोप उनलाई लागिरहेको छ । तर, उनी यस कुरालाई स्वीकार्दैनन् । उनले भने ‘म आफू अभिनय गर्नका लागि १० लाख दिएकै होइन । चलचित्रमै खेल्ने रहर भए म आफै लगानी गरेर हिरो हुन सक्छु ।’

यो विषयमा नायक विराज भट्ट भने हाम्रो सम्पर्कमा आएनन् । निरन्तर चलचित्रको छायांकन भइरहेको भन्दे उनी उम्कन खोजे । यो चलचित्रमा नायक विराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ । एक्सन कथामा यो चलचित्र बनिरहेको छ ।

source; onlinekhabar.com

प्रतिक्रिया दिनुहोस्