| मङ्लबार, भदौ ३, २०७६

गुरुङ–तामाङ मैत्री गाउँ

दरौँदी ः  चेपेखोलावारि गोरखाको क्षेत्र नं. २ को अन्तिम गाउँ ओलाङ छ । चेपेखोला पारि लम्जुङको अन्तिम गाउँ पात्ले छ । आमनेसामने यी दुई गाउँभन्दा माथि दूधपोखरी र त्यो भन्दा पनि माथि वुद्ध हिमाल, हिमचुली हिमाल आदि हिमश्रृङ्खला छ ।
अजीरकोट गाउँपालिकाको वडा नं. २ ओलाङ गाउँमा गुरुङ र तामाङको मात्र बस्ती छ । पात्लेमा भने गुरुङको मात्र बसोबास छ ।
‘ओलाङमा ६० घरधुरी गुरुङ र ३५ घरधुरी तामाङ छन्’ वडाअध्यक्ष भीमलाल तामाङ भन्छन् ‘दुईथरी समुदाय भएपनि यस्तो मेलमिलाप छ कि कुनै फरक नै छैन ।’ तामाङ पनि गुरुङ जस्तो, गुरुङ पनि तामाङ जस्तोगरी बसेका उनले बताए ।
गुरुङहरु तमु ल्होसार मनाउँछन्, तामाङहरु सोनाम ल्होसार मनाउँछन् । मिलेर बसेका यहाँका गुरुङ, तामाङले आफ्नो आफ्नो महानपर्व ल्होसार पनि मिलेरै मनाउने अर्का स्थानीयबासिन्दा इन्द्रसिङ गुरुङ बताउँछन् ।
वलाङको खोल्सावारि गुरुङ र खोल्सापारि तामाङहरु बस्छन् । दुवै जातजातिले दुवैको भाषा राम्रैसंग जानेका छन् । गुरुङहरु तामाङको घर जाँदा तामाङ नै बोल्छन् । तामाङहरु गुरुङको घरमा जाँदा गुरुङ भाषा नै बोल्ने अर्का स्थानीय खड्गबहादुर गुरुङ बताउँछन् । ‘हामीले पनि तामाङ भाषा सबै जानेका छौं, उनीहरुले पनि हाम्रो भाषा सबै जानेका छन्’ उनी भन्छन् ‘हामी उनीहरुको घरमा जाँदा उनीहरुकै भाषा बोल्छौं, उनीहरु हाम्रो घरमा आउँदा हाम्रै भाषामा बोल्छन् ।’ रीतिथिति फरक फरक भए पनि मिलेर मनाउने गरेको उनी बताउँछन् ।
दुई फरक समुदायको मेलमिलाप अचम्म लाग्दो रहेको गाउँपालिकाकी उपप्रमुख चन्द्र गुरुङ बताउँछिन् । ‘अरु गाउँबाट झै झगडाका उजुरीहरु धेरै आउँछन् तर ओलाङबाट अहिलेसम्म एउटा उजुरी पनि आएको छैन’ न्यायिक समितिकी संयोजक समेत रहेकी गुरुङ भन्छिन् ‘जनजाति हुन्, जाँडरक्सी त खान्छन्् तर त्यहाँ झैझगडा कहिल्यै हुदैन ।’ जिल्लाको अन्तिम शान्तिप्रिय गाउँ ओलाङको उपाध्यक्ष गुरुङले मुक्तकण्ठले प्रसंसा गरिन् ।
बजारिया रहनसहनको प्रभाव नरहेको ओलाङ गाउँमा गुरुङ र तामाङ दुवैको संस्कृति यथावत छ । घाँटु, मारुनी लगायतका नाच जीवितै रहेको स्थानीय एलिना गुरुङ बताउँछिन् । साँझ रोधी बस्ने संस्कृति पनि जीवितै रहेको उनको भनाइ छ ।
यहाँका बासिन्दाको मुख्य पेशा कृषि हो । उचाइमा रहेकाले धान खेती नभए पनि यहाँ गहुँ, मकै, कोदो, आलु लगायतका खेती गरिन्छ । यहाँका घरैपिच्छे जसो युवाहरु वैदेशिक रोजगारीमा गएकाले मुख्य आर्थिक आधार रेमिट्यान्स नै रहेको स्थानीय इन्द्रसिँङ गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्