| मङ्लबार, बैशाख १, २०८३

नवज्योति र बालमन्दिर माविलाई पुस्तकालय हस्तान्तरण

गोरखा नगरपालिकाभित्रका दुई वटा विद्यालयलाई पुस्तकालय हस्तान्नरण गरिएको छ । नवज्योती मावि डण्डीडाँडा र बालमन्दिर मावि छहरेलाई कल्स ओभर रिजेज नेपाल नामक संस्थाले पुस्तकालय हस्तान्तरण गरेको हो ।

संस्थाले सो विद्यालयहरुमा विगत चार वर्षदेखि संचालन गर्दै आएको ‘पुस्तकालय व्यवस्थापन कार्यक्रम’ सफलतापूर्वक पूरा भएसँगै पुस्तकालय हस्तान्तरण गरिएको संस्थाका राजेश श्रेष्ठले बताए । ग्रामीण बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त बिद्यालयहरुमा संस्थाले पुस्तकालय संचालन गर्दै आएको थियो ।

‘पुस्तकालय व्यवस्थापन कार्यक्रम अन्तरगत हामीले विद्यालयहरुमा चार वर्षसम्म निरन्तर काम ग¥यौ’, उनले भने, ‘चार बर्षपछि दुवै विद्यालयमा फर्निचरसहितको अत्याधुनिक पुस्तकालय निर्माण भएको छ, आज बिद्यालयलाई हस्तान्तरण ग¥यौ ।’ उक्त पुस्तकालयमा ३५०० बढी पुस्तक, ल्यापटप, प्रिन्टर लगायतका सामग्री समेत रहेको उनले जानकारी दिए ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी दुवै विद्यालयका प्रधानाध्यापकलाई पुस्तकालय हस्तान्तरण गरिएको हो । गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समिति, शिक्षक एवं विद्यार्थी लगायतको सहभागीतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्