| शनिबार, बैशाख ८, २०८१

प्रदेश ४ का मुख्य मन्त्रीको अपिल ः फूलमाला लाउने कार्यक्रम नगरौं

पोखरा । ढिला गरी कार्यक्रम सुरु हुन्छ । कार्यक्रम सुरु भएसँगै फूलामाला लगाउने, स्वागत तथा उद्घाटन । कोही माथि मञ्चमा त कोही तल आसन । त्यसपछि पट्यारलाग्लो भाषण । कार्यक्रम सकिनै लाग्दा पनि नसकिने आसन ग्रहण ।

 

नेपालमा हुने कार्यक्रमको शैली हो यो । बिहीबार भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यक्रम पनि यस्तै रहृयो । भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले प्रदेशमा भौतिक पूर्वाधारको अवस्था बुझ्न सबै क्षेत्रीय कार्यालय प्रमुखहरुलाई डाकेका थिए ।

प्रमुख अथिति थिए मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । जब मुख्यमन्त्री पृथ्वीसुब्बा बोल्न मञ्चमा उक्लिए उनले सुरुमै कार्यक्रम गर्ने शैली र काम गर्ने परम्पराप्रति जोड दिए ।
मुख्यमन्त्री गुरुङले सरकारीस्तरमा हुने कार्यक्रमको शैली बदल्न निर्देशन दिएका छन् ।

प्रदेशको भौतिक पूर्वाधारको अहिलेको अवस्था बुझेर भावी नीति तथा कार्यक्रम बनाउन राखिएको कार्यक्रममा सचिवदेखि मुख्यमन्त्रीसम्मलाई मालाको व्यवस्था गरिएको थियो ।

‘पहिले हामीले फूलमाला लगाउने र लम्बेतान कार्यक्रम गर्ने शैली बदलौं,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने, ‘कार्यक्रम के उद्देश्यले गरिएको हो, त्यसैमा प्रवेश गरौं ।’

कार्यक्रमको उद्देश्यमा प्रवेश नगरी स्वागत, धन्यवाद जस्ता शीर्षक राखेर लम्बेतान गर्ने शली बन्द गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘कार्यक्रम के हो त्यही गरौं ।’

माला लगाएर कोही माथि मञ्चमा र कोही तल बस्ने शैली पनि हटाउन उनले आग्रह गरे । ‘सँगै समान हैसियतले राउन्ड टेबलमा बसौं,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने ।

टोल बस्तीमा हुने सार्वजनिक समारोहमा तत्काल यो शैली हटाउन नसकिए पनि सरकारी कार्यक्रमबाट पुरानो शैली हटाउन मुख्यमन्त्रीको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्