
अब सहिद लखनको गाउँपालिकाको केन्द्र पिपलछापमा
दरौँदी ः सहिदलखन गाउँपालिकाले हाल बाँसकोटमा सञ्चालन भइरहेको कार्यालय पिपलछापमा सार्ने निर्णय भएको छ । हालै सम्पन्न गाउँ कार्यपालिकाको बैठकले केन्द्र परिवर्तनको निर्णय गरेको हो । सो निर्णय सोमबार हुने गाउँसभाले अनुमोदन गरेपछि कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।
साथै पिपलछापमा बिभिन्न कार्यालय स्थापनाका लागि जग्गा जुटाउने काम भइसकेको उनले बताए । ‘कतिपय जग्गा निशुल्क प्राप्त भएको छ भने कतिपय सुपथ मूल्यमा खरिद गरिसकिएको छ’ आलेले भने ‘सोमबार हुने गाउँसभाले अनुमोदन गरेपछि निर्माणको काम सुरु हुनेछ ।’
साथै गाउँकार्यपालिकाको बैठकले तीन सदस्यीय न्यायिक समिति पनि बनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको संयोजकत्वमा वडा सदस्य इश्वर दवाडी र वडा नं. ४ का सदस्य देवराज खनाल रहेको न्यायिक समिति गठन गरेको गाउँपालिकाले जनाएको छ ।
पहिलो गाउँ सभाले पास गरेर बास्केटफण्डमा राखेको बजेट तथा कार्यक्रमलाई संशोधन गरेको छ । सो संशोधित निर्णय पनि गाउँसभाले अनुमोदन गराउने उनले बताए ।