| शनिबार, बैशाख ८, २०८१

लकडाउनको २५ औ दिनमा पृथ्वीराजमार्ग : कोरोना कहिले लाग्छ लाग्छ, भोक अहिले लाग्छ

शिव उप्रेती :

चैत ११ गते लकडाउन सुरु भएताका भारतीय सीमाबाट हुलका हुल नेपाल भित्रिने क्रम बढ्यो । जब चौथो चरणको १५ दिने लकडाउन सुरु भयो, पहाडबाट हुलका हुल तराई र पश्चिम नेपाल जाने क्रम बढ्यो ।

विशेषत ः भूकम्पपछिको पुनर्निर्माणका लागि गोरखा, लम्जुङ, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौ, ललितपुर भक्तपुरमा आएकाहरु पृथ्वीराजमार्गमा चप्पल पड्काउँदै लावालस्कर लागेर तराई झरे । बालबच्चा, गर्भवतीसमेत सडकमा सुते, बैशाखको धुपमा खालि खुट्टा हिडे ।

यो सकसपूर्ण यात्रा बारे जताततै चर्चा हुन थाल्यो । मानवीय संवेदनामाथि बेवास्ता गरिएको भनेर सरकारप्रति बिभिन्न टिका टिप्पणी हुन थाल्यो । यही अबस्था बारे बुझ्न लकडाउनको २५ दिन पृथ्वीराजमार्गतिर झर्दा शुक्रबार बिहान पृथ्वीराजमार्गतर्फ जाँदा साना ठूला धेरै टोली भेटिए ।


त्यसमध्य एउटा थियो, बिहान चारबजे गोरखाको फुजेलबाट हिडेका नवलपरासीका अमरसिँह सोमाई र नरेन्द्र खम्चा मगरको टोली । उनीहरु साँढे १० बजे कुरिनटार चेरेसमा भेटिए । मध्यविन्दू १४ मैनाघाटका लागि उनका नौ जनाको टोली पृथ्वीराजमार्गको किनारै किनार बिहानको छाक फुको चाउचाउको फाँको मार्दै अघि बढिरहेका थियो । चर्को घाममा तातेका उनीहरु फोटो खिचाउन र भोगाइ सुनाउन पनि सजिलो मानिरहेका थिएनन् ।

कुरिनटारको सशस्त्र प्रहरीले केही यात्रुलाई ट्रक चढाइरहेको थियो । ट्रक चढेको छिनमै तराइ मूलका १७, १८ बर्षका जस्ता देखिने तीनजना ओर्लिए र भने, हामी हिडेरै जान्छौं, यसमा जाँदैनौं । प्रहरीले कारण सोध्दा एकजनाले भने, ‘भित्र मान्छे धेरै रहेछन् । रोडमा हिड्दा भन्दा भित्र धेरै गर्मी रहेछ ।’ तर प्रहरीले गाडी चलेपछि सितल हुने भन्दै फेरि चढायो र पठायो ।

दिउसो १२ बजे धादिङ र चितवनको सीमा मौवाखोलामा पुग्दा चार बर्षे छोरो साथमा लिएकी सल्यानकी पवित्रा पुन मगर भेट भइन् । धादिङबाट सखारै पाँचबर्षे छोरो डोहो¥याउँदै हिडेकी उनी भर्खरै मौवाखोलामा आइपुगेकी थिइन् । थकाइ र भोकले उनमा जति शिथिलता देखिन्थ्यो, त्यो भन्दा उनको छोरो निन्याउरो देखिन्थ्यो । हातमा आधा खाइसकेको चाउचाउको पोको थियो । दूधभातको भोक चाउचाउले मार्न सकेजस्तो देखिएन । त्यसैले हुनसक्छ बच्चाको अनुहार मलिन थियो ।

धादिङको सर्साचौताराको इटा उद्योगमा काम गर्ने पवित्रासंगै घर जान हिडेका सल्यानका आठ जना साथी पनि थिए ।
बन्दाबन्दीका कारण एकदिन, दुईदिन तीनदिन गर्दै तीनहप्तासम्म काम नपाएपछि उनीहरुले शुक्रबार बिहान चार बजे सल्यानका लागि साइत गरेका थिए ।

मौवाखोलामा अर्को ठूलो जमात थियो, बिभिन्न ठाउँबाट हिडेका, बिभिन्न गन्तव्यका लागि । तीमध्य एक थिए, कैलालीको टिकापुर २ विजय नगरका दुखीराम चौधरी । सुरज चौधरी त्यो समूहका पाका र अलिक फरासिला थिए । धादिङको पौवामा घर बनाउने काम गर्दै आएका उनको साथमा अरु १० जना थिए । उनीहरु चार महिनादेखि भूकम्पपछिको पुनर्निर्माणको काम गर्थे । अचानक लकडाउनकाले कामबिहिन भएपछि घर जानु भन्दा राम्रो बिकल्प उनीहरुले देखेनन् । ‘काम नपाएको २५ दिन भयो । अब मुखमा माड लाग्ने देखिएन’, उनले भने, ‘अब मर्नु भन्दा बौलाउनु राम्रो भनेर हामी सबे निस्कियौं ।’


उनीहरु बिहिबार नै निस्किएका हुन् । बिहिबारको रात सडकमा सुतेर बिताए । ‘अहिले त कसैको होटल, घर पाउने कुरै भएन’, उनले भने, ‘खै कुन्नि कुन बजार थियो, हामी त्यसको नजिकै रोडमा सुत्यौं । बिहानै निस्किएर हिडिहाल्यौं ।’ केही अघि बढेपछि उनीहरुलाई अर्को टोलका बासिन्दाले चिउरा, बिस्कुट, चाउचाउ बाँडेका रहेछन् । ‘भात नखाएको दुई दिन भयो । हिजो बिहान पनि खाइएन, बेलुका पनि, अहिले बिहान पनि भात खान पाएका छैनौं’, अर्का रामबहादुर डंगौरियाले भने ‘रोग कहिले लाग्छ लाग्छ, भोक अहिले लाग्छ । हामीलाई त रोग भन्दा भोकको ठूलो समस्या छ ।’ भोकको पीरले आठ नौ दिन लागे पनि हिड्न तयार रहेको उनले बताए ।

मौवाखोला धादिङ र चितवनको सीमाना हो । धादिङ तरेर चितवन लागेपछि इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ, केही प्रहरीलाई साथमा लिएर अलपत्र यात्रुलाई भेला गर्दै ट्रक चढाउदै थिइन् । कञ्चनपुर जाने एउटा टोलीलाई पानी र चाउचाउ दिएर हात हल्लाउँदै राम्ररी जान शुभकामना दिइन् ।

भर्खर अर्को ट्रक आयो बुटबल जाने । उनले कैलाली जाने दुखीरामको टोलीलाई पनि खाजा र पानी दिएर ट्रक चढाएर बाईबाई गरिन् । दुखले हिडेका यात्रुसंग पैसा नलिइदिन चालकलाई अनुरोध गरिन् । चालकले ‘कहाँको पैसा लिनु, आफू नसुतेको पनि दुईदिन भइसकेको छ’ भनेको सुनियो ।

पवित्रा पुनको सानो छोरोले पनि ट्रक चढ्न पाएपछि हात हल्लाउँदै गयो ।


मान्छेलाई दुख दिन नहुने गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले तर्क गरिन् । ‘गाडीबाट कोरोना सर्ने होइन, सर्ने मान्छेबाट हो’, उनले भनिन्, ‘गाडी चढ्न मात्र नपाउने हिडेर यात्रा गर्न चाहिँ पाउने गर्दा मान्छेले धेरै दुख पाए । त्यसैले मैले दुईदिनदेखि यहाँ बसेर प्रहरीको साथ लिएर गाडी रोक्दै, मान्छे चढाउने पठाउँदै गरेको छु ।’, बिहिबार र शुक्रबार गरेर पाँचसय भन्दा धेरै यात्रु मौवाखोलाबाट ट्रक चढाएर पठाएको उनले सुनाइन् ।

अपरान्ह पाँचबजेतिर मौवाखोलाबाट फर्किदै गर्दा बिहान तीनबजे गोरखाको तान्द्राङबाट हिडेका सुरज चौधरी साँझ साँढे पाँच बजे तनहूँको आँबुखैरेनीमा भेटिए । बर्दियाको होरीगाउँ जान हिडेका उनीसंगैका ६८ जनालाई सिद्धिगणेश टोल विकास संस्थाले बाँडेको चिउरा, चाउचाउ र पानी लिइरहेका थिए । टोल विकास संस्थाका सदस्यहरु फोटो खिचाउन र नाम भन्न पनि मानेनन् । फोटो खिचाएर प्रचार गर्नका लागि नभै मानवीय धर्मका लागि खाजा बाँडेको उनीहरुले भनिरहेका थिए ।

भरेको छाक टार्न चिउरा र चाउचाउको जोहो त भयो, तर राती कहाँ बास बस्ने ठेगान थिएन । छिटोछिटो गरेर मुग्लिनसम्म पुगे बासका लागि सजिलो हुने टोल विकास सँस्थाका सदस्यहरुले सुझाव दिइरहेका थिए । ‘रोगको त डर छैन तर कहाँ बास बस्ने, घर कसरी पुग्ने भन्नेचाहिँ डर छ’, संगैका रमेश चौधरीले भने ‘गाडी पाइएन । एकदिन होइन, दुईदिन होइन काम पनि छैन, खल्तीमा दाम पनि छैन । यहाँ आत्तिएर मर्न भन्दा बरु जे पर्ला पर्ला भनेर सबैजना निस्किएको हो ।’ असिनपसिन हुदै उनीहरुको समूह अन्यौल गन्तव्यतर्फ लम्किरहेका थिए । ‘मुग्लिन पुगेपछि गाडी पाइन्छ ?’ एउटाले सोध्यो, तर मौवाखोलामा जस्तो सेवा मुग्लिनमा देखिएको थिएन ।

अझै अगाडि बढेपछि तनहूँबाट गोरखा प्रवेश गर्ने मस्र्याङ्दी पुलनेर साँझ छ बजेतिर सुर्खेत जान भनेर हिडेका राजन क्षेत्रीको टोली भेटियो । उनीहरु कामको खोजीमा गत चैतको तीन गते मात्र गोरखा आएका थिए । काम नपाउँदै लकडाउन भएपछि बाटो तताउनुको बिकल्प थिएन । उनको समूह १० जनाको थियो । करिब चार पाँचबर्षको छुनमुने बालक पनि साथमा थियो । चिया खाने खर्च पनि खल्तीमा नभएकाले उनी एकडेढसय रुपैयाँको पनि याचना गर्दै थिए । ‘बच्चा छटपटाएर चार वटा पसल गइसक्यो तर पैसा नभएर केही खुवाउन सकेको छैन’, उनले भने, ‘कसैले दुईचार पैसा दिए यो बच्चाले मुख मिठो बनाएको हेर्ने मन थियो ।’

लकडाउनले बेहाल बनायो भनेर वडा कार्यालयमा निवेदन पनि दिएको तर उचित राहत नपाएको उनको गुनासो थियो । ‘खान बस्न पाइएन भनेर वडामा निवेदन दियौं तर १० जनाका लागि पाँच किलो मात्रै चामल दिए । दुई दिनलाई पनि पुगेन । त्यसैले जे पर्ला पर्ला भनेर निस्केर हिडेको ।’ टाउकामा भारी बोकेका उनीहरुको लाइन साँझ अबेर राजमार्गमा चप्पल पट्काउँदै टाढा बिलायो ।

तराइबाट राँगो खाँदेजस्तो मान्छे खाँदेर जाँदा पनि थोरै हाँसेर बाईबाई गरेको मौवाखोलाको दृश्य गोरखाको क्षेत्रभित्र साँझ अबेरसम्म पनि देखिएन ।
शुक्रबार साँझ सर्वोच्च अदालतको आदेश समाचारमा देखियो, ‘टाढाका अलपत्र यात्रुलाई गाडी चढाएर तत्काल घर पु¥याउनू ।’ त्यसलगत्तै प्रधानमन्त्रीको अर्को निर्देशन आयो, ‘टाढाका अलपत्र यात्रुलाई खानेबस्ने बन्दोबस्त गर्नू, हिड्न नदिनू ।’
यो बिरोधाभासले कतिदिन यात्रुले सास्ती पाउने हुन् ?

प्रतिक्रिया दिनुहोस्