| शनिबार, बैशाख ८, २०८१

राहत बितरणको हिजोकै शैलि

शिव उप्रेती :

कोरोना भाइरस(कोभिड १९) को सम्भावित संक्रमण न्यूनिकरण गर्न स्थानीय सरकारले राहत बितरण सुरु गरेको छ । अहिले प्राय सबै स्थानीय तहमा राहतका लाभग्राहीको लगत संकलन सुरु भएको छ । अबको केहीदिनभित्रै राहत वितरण सुरु हुनेछ ।

यही मौकामा बिभिन्न सामाजिक संघसंस्थाहरुले पनि राहत वितरण गर्न उत्सुकता देखाइरहेका छन् । राहत वितरणको सिजन सुरु भएको छ । यो सिजनमा कसैले ज्यालादारीलाई, कसैले न्यून आर्थिक अबस्था भएकाहरुका लागि, कसैले अपांगहरुका लागि, कसैले दलित, कसैले ज्येष्ठ नागरिकलाई, कसैले गर्भवती, सुत्केरीलाई भनेर, कसैले स्वास्थ्यकर्मीलाई भनेर, कसैले सुरक्षाकर्मीका लागि भनेर, कसैले कुन समूहलाई कसैले कुनै समूहलाई भनेर राहत वितरण गर्ने लहर चल्नेछ ।

राहत भनेपछि जसको पनि ¥याल चुहिँदो रहेछ भन्ने तथ्य त भूकम्पका बेला सबैले भोगिसके । बजारमा पितापुर्खादेखि व्यापार गर्दै आएका करोडपतिहरुले पनि बिभिन्न संघसंस्थाले बिउका लागि भनेर दिएको एककिलो मकैको बिऊ(जसले मकैखेती गर्दैनन्) हात थापेको देखिएको थियो ।

अहिले लगत संकलनका बेला पनि मापदण्डभित्र नपरेकाहरुले नाम टिपाएको गुनासो सुन्न थलिसकिएको छ । टोल विकास संस्थामा रहेकाहरुलाई प्रभावित बनाई र लाज सरम पचाई नाम प्रस्ताब गरेको देखिएको छ । यसले राहतको दुरुपयोग हुने निश्चितता देखाएको छ ।
लकडाउन सुरु हुने दिनको आसपास प्राय सबै आफ्नो गृहथलो पुगिसकेका छन् । गृहथलोमा प्रायको अबस्था न्यूनत्तम दुई, तीन महिनालाई खान पुग्ने सञ्चित हुनेगर्छ । जसको हुदैन, उसले पनि सरसापट, एैचोपैँचो गर्छ । अझै भन्नपर्दा गाउँघरमा दैनिक ज्यालादारीमा काम रोकिएको छैन । त्यसैले यो दुई हप्तामै जटिल परिस्थिति आएको छैन । त्यसैले राहत वितरणको हतारो त्यति अपरिहार्य छैन ।

केही समस्या त्यस्तालाई परेको छ, जो दैनिक भारी बोकेर साँझ बिहान गुजारा गर्ने गथ्र्यो, जो निर्माणको काम गर्न बेजिल्लाबाट आएर घर फर्कन नसकी अलपत्र परेको छ, जो साहुको दैनिक काम गरेर साँझ बिहान गुजारा गथ्र्यो । यो बाहेक अरुहरु पनि मास्कले मुख छोपेर अबको एकदुई दिनमा राहत माग्ने लाइनमा हात थाप्न उभिएको अबश्य देखिनेछ ।

मास्कले लाज छोपेर राहतको लाइनमा उभिने यस्ता अनुहारले अर्को नजिर बसाउनेछ, उसले त लियो भने हामीले लिन किन नहुने ? अनि दोस्रो चरणमा राहत माग्नेको संख्या दोब्बर बढ्ने छ ।

राहत दिनेलाई पनि, गंगाको जलले सूर्यलाई अर्ग दिए सरह त हो, सजिलै दिन थाल्नेछ । राहत दिँदा खुशी हुनेले भोलिका दिनमा भोट हाल्ने आशामा बिना हिच्किचावट राहत दिनेछ । भूकम्पका बेला राहत थाप्न अभ्यस्त हातहरुले यो राहतमा पनि अधिकार खोज्नेछन् । अनि सुरु हुनेछ भद्रगोल ।
अहिले पसलमा सामान किन्नका लागि पनि दुरी निर्धारण गरिएको छ । परस्पर छुँदा कोरोना भाइरस सर्ने सम्भावना हुने भएकाले ग्राहक उभिनका लागि दुई मिटरको दुरी निर्धारण गरी गोलो घेरा लगाइएको छ । सामाजिक दुरी कायम गर्ने भनेर सर्बत्र सचेतना जगाइएको छ ।
मन्त्रीपरिषदको बैठक बस्दा पनि दुरी कायम गरिएको छ । नगरपालिका, गाउँपालिकाहरुको बैठकमा पनि सामाजिक दुरी कायम गरेको तस्वीर देख्न सकिन्छ । तर आइतबार गोरखा नगरपालिकामा आयोजित राहत हस्तान्तरण कार्यक्रममा दिने र लिनेहरुको भीड देखियो । भीडमा सामाजिक दुरीको मान्यताको उल्लंघन देखियो । कन्यादान गर्न लागेजस्तो अटेसमटेस गरेर राहत ग्रहण र हस्तान्तरणको फोटो खिचाएको दृष्य देखियो । यो दृष्यबाट समुदायले के सोचे ?

दाताले सहयोगापेक्षीका लागि दान गरेको जर्मनीको फोटो केहीदिनअघि सामाजिक सञ्जालहरुमा व्यापक भएको थियो । यस्तो दृष्यबाट अब हाम्रो समाजले पनि देखासिकी गर्नेछन् भन्ने अपेक्षा थियो । तर आइतबारको भूकम्पको गोरखा नगरपालिकाको राहत हस्तान्तरणको त्यो तस्वीरले खिन्न बनायो ।

अब पनि सचेत हुने बेला भएको छैन र ?

प्रतिक्रिया दिनुहोस्