| बुधबार, चैत्र २६, २०७६

आज रङहरुको पर्व होली मनाईदै

रङहरुको पर्व होली अर्थात फागुपूर्णिमा आज मनाईँदैछ । तर यस वर्षको होलीमा बिगत वर्ष जस्तो उल्लास र रौनक छैन । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भीडभाड बढ्ने कार्यक्रमहरू नगर्न र सहभागी नहुन अनुरोध गरेको हो ।
आम नागरिकबीचको आपसी समन्वय, सहयोग र सतर्कताले कोभिड–१९ को संक्रमणलाई नेपाल भित्रिन नदिन सहयोग पुग्ने छ । सरकार पनि संक्रमण भित्रिन नदिन हरेक उपाय अवलम्वन गर्न प्रतिवद्ध रहेको मन्त्रालयद्धारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्