
श्रम गर्न गएका गोरखाका कुमार साउदीको जेलमा, श्रीमतीले रुँदै भनिन् उहाँलाई घर फर्कादिनुस्
दरौँदी ः श्रम गरेर परिबार पाल्न साउदी अरब गएका गोरखाका कुमार राना आठ महिनादेखि जेलमा सडेपछि जेलमुक्त गराइदिन उनको परिबारले हारगुहार गरेका छन् । साउदी अदालतले जरिबाना गरेको ८० लाख रुपियाँ तिर्न नसक्ने भन्दै कुटनीतिक पहलबाट रिहा गरिदिन उनकी धर्मपत्नी अम्बिका रानाले अनुरोध गरेकी छन् ।
‘घरमा बुढा बा, बुढी आमा, म र तीन छोराछोरी मात्र छौं’ रानाले रुदै भनिन् ‘घरको झिटीले खान लाउन नपुग्ने भएर बिदेश जानु भएको हो । अब त्यति धेरै जरिबाना हामी कहाँबाट तिर्न सक्छौं र ? अब उहाँ जेलमै सड्नु पर्ने भयो ।’ मिहिनेत गरेर खान खोज्दा पनि नपाएको उनको गुनासो छ ।
भीमसेन गाउँपालिका ७ बोर्लाङ, सातबीसेका ४० बर्षीय कुमार राना साउदी अरबको अफिफ जेलमा रहेका उनका साथी विनोद श्रेष्ठले जानकारी दिए ।
उनले काम गर्ने कम्पनीको गाडीले साउदी नागरिक खलिद विन फाहद बिन सदरलाई घाइते बनाएको भन्दै राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सामान्य चोटपटक लागेको भन्दै प्रहरीले चारदिनपछि रिहा गरेको थियो ।
‘तर फेरि घाईते भएका साउदी नागरिक खलिद विन फाहद बिन सदरले अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दिएछन्’ अम्बिकाले भनिन् ‘अदालतले दुईलाख ९४ हजार साउदी रियल (करिब ८० लाख नेपाली रूपैयाँ) तिर्नु पर्नै फैसला गरेपछि उहाँ काराबासमा हुनुहुन्छ ।’ रोकि राखेको गाडीमा अर्को गाडी आएर ठक्कर दिएपछि उनी घाइते भए पनि सजायँ आफ्नो श्रीमानले खेप्नु परेको उनको भनाइ छ ।
काम गर्ने अफिफ स्थित खालिद सुल्तान अल हाजित कम्पनीले त्यति पैसा तिर्दिने आश्वासन दिए पनि नदिएपछि आफूहरुको बिचल्ली भएको उनी बताउँछिन् । रानामगर ६ बर्षदेखि रोजगारीको लागि साउदीमा छन् । उनी द गोर्खाज् म्यानपावर कम्पनीबाट साउदी अरब पुगेका हुन् । उनलाई त्यहाँ पु¥याउने म्यानपावर कम्पनीले पनि रिहाइको पहल गर्न नसक्ने बताएको छ ।
८० लाख तिर्न नसकेर उनी जेलमा बसेपछि हालै स्थानीय स्तरमा कुमार राना उद्धार समिति गठन भएको छ । आर्थिक संकलन गर्ने उद्देश्यले कृष्ण ढकाल संयोजकत्वको समिति गठन भए पनि अहिलेसम्म करिब एकलाख ५० हजार रुपियाँ मात्र संकलन भएको छ । ‘सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन अभियान चलाएका छौं’, संयोजक ढकालले भने, ‘भर्खर डेढलाख रुपियाँ जति संकलन भएको छ । ८० लाख कहिले पु¥याउने खै ?’ उनले सहयोग गर्ने चाहनेले अम्बिका राना, कृष्णप्रसाद ढकाल र चित्रकुमार श्रेष्ठको नाममा रहेको संयुक्त खाता नं. ०३९०१००१००६५६९०००००१ प्रभु बैंकको कलंकी शाखामा रकम जम्मा गरिदिन सक्ने जानकारी पनि दिए ।