| शुक्रबार, फाल्गुन ९, २०७६

नौलीखोलामा क्यानोनिङ परीक्षण, क्यानोनिङ प्रशिक्षण केन्द्र बनाउने

धार्चे गाउँपालिका ७ लापुवेशीस्थित नौलीखोलाको छाँगोमा क्यानोनिङको प्रशिक्षण केन्द्र सञ्चालन गर्न उपयुक्त देखिएको छ ।

शनिबार नेपाल क्यानोनिङ एशोसिएशनको प्राविधिक टोलीले परीक्षण क्यानोनिङ गरी नौली छाँगोलाई उत्कृष्ठ प्रशिक्षण केन्द्र हुनसक्ने ठम्याइएको सो टोलीमा सहभागी रहेका धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

नौली छाँगो उपयुक्त छ वा छैन भनेर परीक्षण गर्नका लागि क्यानोनिङ एशोसिएशनका उपाध्यक्ष किशोर शाही, सचिव दावा लामा, प्राविधिक बखन तामाङ लगायत सहभागी थिए । सोका लागि धार्चे मनास्लु पर्यटन विकास समितिले समन्वय गरेको थियो ।

नौली छाँगोको सुरुको १०० मिटर ज्यादै जोखिम रहेको र त्यसभन्दा तलको ७० मिटरमा क्यानोनिङ गर्न उपयुक्त रहेको ठहर गरेको गुरुङले जानकारी दिए । मनास्लु पदमार्ग मा पर्ने भएकाले सो छाँगोमा क्यानोनिङ गर्न धेरै पर्यटक सहभागी हुनसक्ने अपेक्षा गरिएको गुरुङले बताए । परीक्षण तथा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले यसबर्षका लागि नौलाख रुपैयाँको बजेट तथा कार्यक्रम तय गरेको पनि उनले बताए ।

यसअघि धार्चे २ स्थित यारुखोला मा पनि क्यानोनिङ गर्ने बारे अध्ययन भएको थियो । मनास्लु पदमार्गमा पर्ने यहाँका खोलाहरुमा क्यानोनिङ प्रवद्र्धन गर्ने गाउँपालिकाको पनि योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्