| शनिबार, बैशाख ८, २०८१

मनास्लु पदमार्गमा चारठाउँमा हिउँ पहिरो, स्थानीयबासी त्रसित, पदमार्ग अवरुद्ध

 

निरन्तरको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गमा चार ठाउँमा हिउँ पहिरो गएको छ । चुमनुब्री गाउँपालिका वडा नं. २ भर्जमस्थित आसपासमा तीनठाउँमा र वडा नं. ४ को नाम्रुङ आसपासमा हिउँ पहिरो गएको वडा अध्यक्षहरुले जनाएको छन् ।

नाम्रुङ गाउँभन्दा करिब पाँचसय मिटर माथि बिहान पौने बाह्रबजे हिउँपहिरो खसेको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए । पहिरो करिब पाँचसय मिटर माथिबाट बूढीगण्डकी नदीमा खसेको उनले बताए ।

त्यस्तै वडा नं. २ को भर्जम गाउँभन्दा माथि, गाउँभन्दा तल र भर्जमथाङ्का भन्ने ठाउँमा हिउँ पहिरो गएको वडा अध्यक्ष पेम्बारेता लामाले बताए । गाउँ आसपास हिउँ पहिरो झरेपछि स्थानीयबासी त्रसित भएको लामाले बताए । ‘जताततै पहिरो झरेपछि गाउँलेहरु घरभित्रको भित्रै बसिरहेका छन्’, उनले भने, ‘डरले पहिरो हेर्न जान पनि सकेका छैनन् । खतरा हुनसक्ने भएकाले मैले पनि कोही पनि बाहिर ननिस्क भनेको छु ।’ भिरालो ठाउँमा हिउँमाथि हिउँ खात लागेपछि हिउँ पहिरो झर्ने र यसले ठूलाठूला रुखसमेत बगाएर जंगल नाश गर्ने उनले बताए ।

हिउँ पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले बताए । ‘करिब पाँचसय मिटर माथिदेखि बूढीगण्डकी नदीसम्म पहिरो खसेको छ’, उनले भने, ‘ठूलाठूला सल्लाका रुखहरु समेत पहिरोमा बगेर आएका छन् ।’ हिमपात र हिमपहिरोमा परी धेरै संरक्षित वन्यजन्तु नष्ट भएको हुनसक्ने उनले बताए ।

शुक्रबार दिनभरि पहिरो झरिरहेकाले मौसम सफा नहुञ्जेल पहिरो पन्छाउने नजान आग्रह गरेको उनले बताए ।
पहिरोले ल्हो र प्रोक बीचको पदमार्ग अवरुद्ध भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लार्के प्रहरी चौकीले पहिरो आसपास मान्छेलाई आवतजावत गर्न रोकेको एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्